कोहलपुर ।
‘सार्वजनिक शैक्षिक गुठी’ कोहलपुर माध्यमिक विद्यालय कोहलपुरको १०औँ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ । सोमबार कोहलपुर नगरपालिका मेयर पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो ।मेयर आचार्यले पानसमा बत्ती बालेर सो कार्यक्रमको उद्घाटन गरेका थिए ।
उक्त अवसरमा बोल्दै प्रमुख अथितिसमेत रहेका मेयर आचार्यले कोहलपुर माध्यमिक विद्यालयले दक्ष जनशक्ति उत्पादन गरेको बताए । स्थापना भएको दुई दशकसम्म पुग्दा अनेकौँ आरोहअवरोह सहँदै यो स्थानसम्म पुग्न सफल भएको भन्दै शुभकामनासमेत दिए ।सो विद्यालयले आर्थिक रूपले विपन्नहरूका लागि न्यूनतम शुल्कमा पठनपाठन गराइरहेको उनले बताए ।
अबको शिक्षा सर्टिफिकेट मात्रै नभई व्यावहारिक र जीवनउपयोगी हुनु आवश्यक रहेको उनको भनाइ थियो । पाठ्यक्रममा मात्रै नभई अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर्ने उनले बताए । यो बाँके जिल्लाकै एक मात्रै गुठी विद्यालय रहेकाले शैक्षिक गुणस्तर प्रदान गर्नुका साथै संस्कारसहितको शिक्षा दिन पनि मेयर आचार्यले आग्रह गरे ।
सो अवसरमा गुठी विद्यालयहरू अहिले औँलामा गन्न सकिने मात्रै रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम सापकोटाले बताए । अहिलेसम्म कोहलुर माध्यमिक विद्यालयलाई स्थानीय तहले यहाँसम्म ल्याउन साथ सहयोग गरेको भन्दै उनले धन्यवाद समेत व्यक्त गरेका थिए ।
गुठी र व्यवस्थापन समितिले अहिलेसम्म अहोरात्र खटेर अंग्रेजी माध्यमबाट समेत पठनपाठन गरिरहेकोे उनले बताए । नाफामुखी नभई सेवामुखी गुठी भएको उनको भनाइ थियो । अहिले विद्यालयले करिब १ सय विद्यार्थी निःशुल्क अध्ययन गराइरहेको समेत जानकारी दिए ।
कोहलपुर माध्यमिक विद्यालय अरू विद्यालयभन्दा फरक ढंगबाट सञ्चालन र पठनपाठन भएको गुठी सञ्चालक समिति अध्यक्ष नारायणप्रसाद लम्सालले बताए ।
भौतिक संरचना, खेल मैदान अभावमा पनि विद्यालयले संस्कारसहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको दाबी गरे ।
सो अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत राखेका थिए । कार्यक्रममा विभिन्न विधामा विद्यार्थी र शिक्षकलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । साथै सो अवसरमा अथितिहरूलाई खादा र मायाको चिनोसमेत प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्