नेपालगन्ज ।
बाँके जिल्ला फुटबल संघले मेयर कप अन्तरविद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताका दौरान अनुशासन उल्लंघन गरेको भन्दै जिभिएन स्कुललाई दुई वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
संघको बैठकले प्रतियोगिताका क्रममा जिभिएन टिमका अफिसियल, प्रशिक्षक र खेलाडीले खेलको भावनाविपरीतको क्रियाकलाप गरेको भन्दै दुई वर्ष खेलमा प्रतिबन्ध र १० हजार नगद जरिवानासमेत गर्ने निर्णय गरेको हो । कारबाहीमा परेको जिभिएनले दुई वर्षसम्म संघले आयोजना गर्ने प्रतियोगितामा सहभागिता जनाउन पाउनेछैन ।
खेल रेफ्री, म्याच कमिसनर र प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष निर्मल चन्दको प्रतिवेदनका आधारमा संघले कारबाही गरेको हो ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षमा बसेको बैठकले अन्य महत्वपूर्ण निर्णय समेत गरेको छ । संघले बाँके जिल्ला स्तरको मेयर कप च्याम्पियन टिम नेपालगन्ज सेन्ट जेभियर्स छात्र टिम र कैलाली मेयर कपको डिफेन्डिङ च्याम्पियन टिम कैलाली गुरुकुल इग्ङ्लिस मिडियम स्कुलबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ ।
फागुन १९ गते बाँकेमा आयोजना गरिने मैत्रीपुर्ण फुटबल खेलको संयोजकको रूपमा संघका सदस्य दिपेन्द्र घलेलाई जिम्मेवारी दिइएको छ । मैत्रीपूर्ण फुटबल खेलका लागि खेलाडी छनोटको जिम्मा प्रशिक्षक सानु तामाङ र रबिन्द्र श्रेष्ठले पाएका छन् ।मैत्रीपूर्ण फुटबलको टिम तयारीका लागि मुख्य प्रशिक्षकका रूपमा भीमजंग शाह, प्रशिक्षकमा युवराज शाही र विशाल परियारलाई छनोट गरिएको छ ।
यसैगरी, संघले प्रतिभावान खेलाडी उत्पादन गर्नका लागि वर्षभरि ग्रासरुट कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यसका लागि संघका अध्यक्ष शाहीको संयोजकत्वमा ग्रासरुट कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । ग्रासरुट कार्यक्रमको सदस्यका रूपमा संघका उपाध्यक्षद्वय निर्मल चन्द, टोपेन्द खत्री, महासचिव कमल खत्री र सदस्य दिपेन्द्र घले रहेका छन् ।
यसैगरी, संघले अखिल नेपाल फुटबल संघको फागुन १४ गते काठमाडौँमा हुने साधारण सभामा संघका उपाध्यक्ष टोपेन्द्र खत्री र सदस्य नम्रता तामाङलाई पठाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्