नेपालगन्ज ।
नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा हुँदै आएको ‘टुर दी ठाकुरद्वारा’ छैटौँ संस्करण साइकल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । माघ २६ र २७ गते हुने उत्सवको तयारी पूरा भएको अध्यक्ष प्रदिप सापकोटाले बताए । साइकल पर्यटनमार्फत देश विदेशका पर्यटकहरूलाई बाँके र बर्दियाका मुख्य धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको भ्रमण गराउने उद्देश्यले प्रत्येक वर्ष साइकल यात्रा गरिँदै आएको सापकोटाको भनाइ छ ।
संस्कृति, प्रकृति, पर्यटन, पर्यावरण र खेलकुद’ भन्ने मूल नाराका साथ सुरु भएको साइकल यात्रामा छिमेकी मुलुक भारत र चीनका युवासहित २ सयभन्दा बढी साइकल यात्रीको सहभागिता रहने कार्यक्रम संयोजक शतिश निरौलाले बताए । साइकल यात्रीहरू यसरी भ्रमणमा निस्किँदा साइकल पर्यटनको माध्यमबाट देशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने, तनाव कम भएर स्वास्थ्य राम्रो हुने र आपसी मित्रता र सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पुग्ने आयोजकको भनाइ छ ।
नेपालगन्ज साइक्लिङ क्लबले देश विदेशका पर्यटकलाई बाँके बर्दियाका पर्यटकीय क्षेत्रको भ्रमण गराउने उद्देश्यले २०७५ सालदेखि यो अभियान थालेको निरौला बताउँछन् । यसअघिका यात्रामा विश्व साइकल यात्री पुस्कर शाहलगायत विभिन्न साइकल यात्रीको सहभागिता रहेको थियो । छैटौँ संस्करणका लागि करिब २७ लाख बजेट खर्च अनुमान गरिएको छ ।
नेपालगन्ज साइक्लिङ क्लबले बाँके र बर्दियाका धार्मिक र पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले विगत ६ वर्षदेखि टुर दि साइकलयात्रा सञ्चालन गर्दै आएको छ । कार्यक्रम संयोजक निरौलाले बाँकेको बागेश्वरी मन्दिर हुँदै बर्दियाको ठाकुरद्वारासम्म सञ्चालन हुने यात्रा १०४ किलोमिटर लामो रहेको जानकारी दिए । उनले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बताए ।
बागेश्वरी मन्दिरबाट सुरु भई साइकलयात्रा कोहलपुर, बर्दियाको केदारेश्वर धाम, सत्खलुवा हुँदै ठाकुरद्वारा मन्दिरसम्म पुग्नेछ । यात्रामा सहभागी हुने साइकलयात्रीहरूमार्फत यहाँको पर्यटनसँगै बजार व्यवसाय चलायमान बनाउन सहयोग पुग्दैआएको अध्यक्ष प्रदीप सापकोटाले बताए ।
प्रतिक्रिया दिनुहोस्