कोहलपुर ।
सामाजिक सरोकार मञ्च कोहलपुरले कोहलपुरमा यातायात व्यवस्था कार्यालय स्थानान्तरण गरिनुपर्ने माग गर्दै संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाएको छ । मञ्चका अध्यक्ष राजेन्द्र श्रेष्ठले बिहीबार मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट कोहलपुर स्थानान्तरण गर्न माग गरे ।
उनले जनतालाई अपायक पर्ने स्थानमा सो कार्यालय रहेको भन्दै आफ्नै नाममा छुट्याइएको जग्गा भएको कोहलपुरमा यातायात कार्यालय स्थानान्तरण गरिनुुपर्नेमा जोड दिए । उनले हाल सरकारको नीतिको बर्खिलाप हुने गरी यातायात व्यवस्था कार्यालय सञ्चालन भइरहेकोमा पनि आपत्ति जनाए ।
ज्ञापनपत्रमा सरकारको नीति अनुरूप पनि यातायात कार्यालय राजमार्गका छेउछाउमा हुनुपर्नेमा सरकारको नीति विपरीत भित्री सडकको बजारमा जनतालाई अपायक पर्ने ठाउँमा भएकाले कोहलपुरको राजमार्ग छेउमा यातायात कार्यालयको नाममा छुट्याइएको आफ्नै जग्गामा सारिनुपर्ने माग गरिएको छ ।
कोहलपुर नगर विकास समितिले यातायात कार्यालयका लागि कोहलपुरको राजमार्गछेउ तेह्रबिघा मैदानमा ३ बिघा जग्गा छुट्याइएको छ । तर हाल नेपालगन्जको भित्री बजारको भाडामा रहेको घरबाट यातायात कार्यालयले आफ्नो सेवा प्रवाह गर्दै आएको छ । ट्रायल सेन्टर भने कोहलपुरमा रहेको कार्यालयकै जग्गामा सञ्चालन हुँदै आएको छ ।
नेपालगन्जमा रहेको यातायात कार्यालय धेरै सेवाग्राहीका लागि अपायक पर्ने श्रेष्ठले बताए । ‘यातायात कार्यालय धेरैका लागि अपायक छ,’ उनले भने, ‘आफ्नै नाममा छुट्याइएको प्रशस्त जग्गा हुँदाहुँदै यातायात कार्यालय वर्षौंदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको छ ।’
बाँके र बर्दिया सेवा क्षेत्र रहेको यातायात कार्यालय कोहलपुरमा स्थानान्तरण गरिए बाँके र बर्दियाका अधिकांश व्यक्तिलाई सुविधा हुने उनले बताए ।‘ट्रायल कोहलपुरमा दिनुपर्ने तर लिखित परीक्षा दिन नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ,’ श्रेष्ठले भने, ‘यसले गर्दा सबै सेवाग्राहीलाई असुविधा भएको छ ।’
ज्ञापनपत्र बुझ्दै मन्त्री ज्वालाले सोका लागि आफूले पहल गर्ने बताएका छन् । उनले यस विषयमा संघीय र प्रदेश सरकारबीच समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्