कोहलपुर ।
पाँचौँ प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव–२०८० सुरु भएको छ । महोत्सवको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक समारोहका बीच बिहीबार उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै उनले महोत्सवबाट स्थानीयस्तरमा रहेका लघु, घरेलु उद्योगहरू र स्थानीय उत्पादनहरूलाई बजारीकरणका लागि मद्दत पुग्ने बताए । मनोरञ्जन मात्रै नभई कोहलपुरलाई चिनाउन महोत्सवले अहम् भूमिका खेल्ने उनको भनाइ थियो ।
महोत्सव सफलताको शुभकामना दिँदै नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरलाई साथ दिई मेला सफल पार्न सबैलाई आग्रहसमेत गरे । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरले उदाहरणीय काम गर्दै आएको भन्दै कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आर्चायले महासंघको प्रशंसा गरे ।
मेलामा कोहलपुरका कृषि, उत्पादन र घरेलु तथा साना उद्योग सबैलाई समटेर अघि बढ्न आग्रह गरे । उनले मेला सञ्चालन गर्न नगरपालिकाले दिएको अनुमति र सहमतिमा टेकेर सञ्चालन गर्न पनि सुझाव दिए ।उनले मेलाको आय–व्ययमा पारदर्शिता अपनाउन पनि आग्रह गरे ।
महोत्सव सम्पन्न हुनासाथ कोहलपुरबासीबीच आर्थिक पारदर्शिता कायम गर्दै आय–व्यय पेस गर्न पनि सुझाए । घरेलु महासंघले महोत्सवबाट भएको नाफाले कोहलपुरका अतिविपन्न र गरिबीको रेखामुनि रहेका नागरिकका लागि कोष स्थापना गरिने पनि जानकारी दिए ।
कोहलपुरमा सार्वजानिक जग्गा नभएकाले आगामी दिनमा ठूला कार्यक्रम सञ्चालन गर्न कठिन हुने अवस्था आएको भन्दै यसतर्फ सबैको ध्यान जान जरुरी रहेको मेयर आचार्यको भनाइ छ ।
महोत्सव उद्घाटन समारोहमा लाठी नाच, पञ्चेबाजा, सिंगारु नाचलगायतका विभिन्न संस्कृति झल्काउने झाँकीहरू प्रस्तुत गरिएको थियो । सो अवसरमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यापारी, सामाजिक अगुवा, सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्