17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

चित्रमा विद्रोह बोल्ने चित्रकार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ २५, २०८०  

नेपालगन्ज ।
नेपालमा अझै पनि आर्टमा लगानी गर्ने कल्चर नभएको बताउँछन्, कलाकार लक्ष्मण श्रेष्ठ । उनको बुझाइमा कतिपय मानिसहरू विदेशमा लगानी गरेर पेन्टिङ गर्न लगाउँछन् । तर, नेपालमा त्यस्तो परिपाटीको विकास भएको छैन । तर पनि अहिले भने आर्ट क्षेत्र आसलाग्दो छ । उनले आफ्नो पेन्टिङ ५० हजारदेखि माथि बिक्री गरेको बताए । मैले आफ्नो कलामा समय र संघर्षको मूल्य राख्ने हो ।

हचुवामा मूल्य राख्न नहुने उनी बताउँछन् । नेपालगन्जका लक्ष्मण आर्टबाट पैसा आम्दानी गर्नेसँगै सरकारलाई खबरदारी गर्ने एउटा विद्रोही आर्टिस्टका रूपमा परिचित छन् । यिनको पेन्टिङमा उठान हुने सामाजिक विद्रोहदेखि सरकारसँग तर्सिन्छ । त्यही कारणले उनलाई समातेर थुन्ने काम पनि गरिएको छ ।

वीर अस्पतालको बाटो हुँदै भोटाहिटीतर्फ जाने धेरैजसो यात्रुको नजर बायाँतिरको भित्ताको चित्रमा ठोकिन्छ । रत्नपार्क ‘अन्डरग्राउन्ड सब वे’सँगैको पर्खालमा पोतिएको त्यो ठूलो चित्रले बाटो हिँड्ने जो–कसैकोे ध्यान तान्छ । र, एकछिन रोकिएर नियाल्न बाध्य बनाउँछ ।
कालो पृष्ठभूमिमा सेतो रङले पोतिएको ‘खप्पर’, आगोको लप्काको पृष्ठभूमिमा चिता जलाइरहेको मानिस, पन्जामा ‘मुंग्रो’(ग्याभेल) समातेर झम्टिन खोजिरहेको गिद्दको यो चित्रले यो बाटो हिँड्ने सबैलाई एकछिन टक्क अडिन बाध्य बनाउँछ ।

भयानक चित्रको बीचमा लेखिएको ‘डेड सरकार…’ पढेपछि चित्र हेर्नेहरू एकछिन सोचमग्न हुन सक्छन् । सार्वजनिक भित्तामा सरकारलाई मृत घोषणा गर्ने ‘दुस्साहस’ गरेको हो, लक्ष्मण नेतृत्वको ‘खोज’ समूहले । चित्रको सिग्नेचर लाइनमा ‘खोज’ लेखिएको पनि देख्न सकिन्छ । चित्रमार्फत जनताको दृष्टिमा सरकार देखाउन खोजेको बताउँछन्, चित्रकार श्रेष्ठ ।

सरकारका काम–कारबाहीले सरकार जनताको नजरमा मृतप्रायः भएको उनको ठहर छ । सामान्यजनको जीवनस्तर सुधारका लागि सरकारले केही गर्न नसकेपछि सरकार हुनु र नहुनुको केही अर्थ नहुने उनको भनाइ छ । उनले सन् २०१२ मा नेपालगन्जमा ‘संसद् भर्सेस जनता’ शीर्षकको स्ट्रिट पेन्टिङ कोरेका थिए । पहिलो संविधानसभाको म्याद सकिने बेला बनाइएको यो चित्रमा उनले बक्सिङ रिङभित्र सांसद र जनतालाई देखाएका थिए ।

धेरैजसो नेपालीका लागि अझै पनि चित्रकारिता सोखको विषय मात्रै हो । बहुसंख्यक जनताको पहुँचभन्दा बाहिर रहेको चित्रकलालाई खुला आकाशमुनि ल्याएर आफूले नागरिकका लागि कला बनाउने प्रयासमा लागेको ठान्छन्, श्रेष्ठ । ‘स्ट्रिट फर अल आर्ट’को नारासहित नागरिकका लागि कला भन्दै उनले काठमाडौं, नेपालगन्जका कैयौँ सडकभित्तामा यसरी चित्र पोतेका छन् ।

 

प्रकाशित मितिः बिहिबार, माघ २५, २०८०     9:56:09 AM  |