राप्ती नदीको आठ सय बिघा बगरमा तरभुजा खेती



नेपालगन्ज ।
हरेक वर्ष राप्ती नदीमा आउने बाढीले उत्तर किनार च्याप्न थाल्यो । धान, गहुँ, मकै खेती हुँदै आएको जग्गा नदीको कटानले बालुवा भरिएको बगरमा परिणत भयो । बगर बनेको खेतमा कसरी खेती गर्ने ? जग्गाधनीले त्यसै छाडिदिए । कति जग्गाधनीले त आफ्नो जग्गा बिर्सिए ।

तर यही बगर बनेको जमिनमा एक जना भारतीय नागरिकले तरभुजा लगाइरहेका छन् । त्यो पनि एक दुई कठ्ठामा होइन ‘आँखाले हेरेर समेत नसकिने’ बगरमा ! नेपालगन्जबाट सात सय किलोमिटर टाडा भारत उत्तर प्रदेश बागपत जिल्लाका साहिद अलिको परिवार दुई महिनादेखि डुडुवा गाउँपालिका–५ सिधिनियाघाटस्थित बगरमा तरभुजा र तरकारी फलाउन बालुवाले भरिएको बगरमा संघर्ष गरिरहेका छन् ।

साहिदलाई अबको चार महिनाभित्र बजारमा यही बगरमा उत्पादन भएको ताजा तरभुजा पठाउनुछ । भारतमा रहँदा नेपालगन्जमा तरभुजा बेच्ने कारोबार गरेका उनी भन्दै थिए, ‘त्यहाँबाट यहाँ तीन दिनमा तरभुजा आइपुग्छ । ताजा पनि हुँदैन । मैले यहीँ उत्पादन गरेपछि भने नेपालीहरूले ताजा तरभुजा खान पाउनुहुन्छ ।’ बगरमा कामदारसहित दिनरात मिहिनेत गरिरहेका छन् साहिद ।

बगरमै उनले आठ लाख तरभुजाका बिरुवा तयार गरिसकेका छन्, त्यहीँ नर्सरी बनाएर । त्यो रोप्नका लागि भारतबाटै विशेषखाले ट्याक्टर मगाएर खाल्डो खनिरहेका छन् । त्यो ट्याक्टरमा दिनकै तीन हजार भाडा लाग्छ । भन्सारबाट ल्याउन कम्ता दुःख गर्नु परेन रे उनले ।
‘बगरमै पनि कृषि गर्न सकिन्छ भनेर आएको हुँ ।

पैसा नै मागेको छैन तर कतिपय कुरामा सहजीकरण गरिदिए हुन्थ्यो जस्तो लाग्छ,’ नेपाली सरकारी निकायप्रति केही गुनासा छन् उनका । तर निरन्तर बगरमा तरभुजा फलाउन उनी र उनको परिवार खटिएकै छ । बिजुली छैन सोलारबाट धिपधिपे उज्यालोमै समय कटेको छ । नदीको बगर छेउमा बिजुली जोडिदिन उनले हारगुहार नगरेका होइनन् तर कसैले सुनेको छैन ।

मोबाइल चार्ज गर्न तीन किलोमिटर पर कम्दीमा जानुपर्छ । ‘ठूलै रिस्क लिएर आएको छु । मलाई विश्वास छ सफल हुन्छ,’ काँक्रा, फर्सीको हरिया बोट देखाएर आत्मविश्वासी हुँदै उनी भन्छन्, ‘यदि म सफल भएँ भने नेपाल र नेपाली कृषकका लागि पनि उदाहरण हुन्छ । यहाँ सोचेजस्तो तरभुजा उत्पादन भयो भने सम्भवतः भारतबाट मगाउनु पर्दैन ।’ उनले आठ सय बिघा अनुमान मात्रै गरेका हुन् ।

सिधिनियाघाट उत्तर पश्चिमतिरको सबै बगरमा खेती गरिएकाले अथाह उत्पादन हुने अनुमान छ । यदि सोचेजस्तो उत्पादन भए यसपालि नेपालगन्जको बजारमा राप्तीको बगरमा फलेको तरभुजा नेपाली ग्राहकले खान पाउने साहिद बताउँछन् ।

राप्तीको बगरमा धेरै जनाको जग्गा छ । कतिले बिर्सिए भने कतिले आफ्नो जग्गाको हाल बुझ्न नदी वरपर जाने पनि गर्छन् । साहिदका अनुसार, नदीसँगै रहेको बगरका बारेमा कसैले केही भनेका छैनन् । जग्गाधनीले पनि आफ्नो काम देखेर पैसा नलिने बताइरहेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८० माघ २५ गते बिहीबार