आजदेखि कोहलपुरमा मेला सुरु



कोहलपुर ।
पाँचौँ प्रादेशिक कोहलपुर महोत्सव–२०८० आजबाट सञ्चालन हुँदै छ । पाँचौँ प्रादेशिक औद्योगिक, लघु, घरेलु, तथा कृषि, प्राविधिक, व्यापार एवम् पर्यटन महोत्सवको उद्घाटन भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्ने भएका छन् ।

विभिन्न कला संस्कृति झल्काउने झाँकीसहितको कोहलपुर चौराहाबाट ¥याली निकालेर साझाचोक पुगेर महोत्सव स्थलमा पुग्ने बताइएकोे छ ।
‘मेहेनत सिर्जना उत्पादन र बस्तु मेरै नेपालको’ भन्ने मूलनाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको मुख्य आयोजनामा कोहलपुर नगरपालिका–११ न्युरोडको खुला मैदानमा महोत्सव आजबाट सञ्चालन हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएकोे संघका अध्यक्ष हेमबिक्रम जिसीले बताए ।

‘पहिलाभन्दा केही फरक र भिन्न तरिकाले महोत्सव सञ्चालन गरेका छौँ,’ उनले भने, ‘सुरक्षाकर्मी र महोत्सव स्थलमा सिसिटिभीका साथ सुरक्षित रूपमा महोत्सव सञ्चालन हुदैँ छ, एकपटक अवश्य हेर्न अुरोध गर्दछु ।’ महोत्सवमा पहिलो पटक कोहलपुरमा विविध विषयमा विज्ञसँग ‘टक सो’मार्फत छलफल गरिने उनले बताए ।

अति विपन्न वर्गलाई स्थानीय सरकारको सिफारिसमा निःशुल्क स्टलको व्यवस्था मिलाएको उनले बताए । महोत्सवमा विशेषगरी कोहलपुरको स्थानीय उत्पादनलाई राष्ट्रिय स्तरमा चिनाउन प्रदर्शन गरिने उनले बताए ।

नवीनतम् प्रविधिजन्य उत्पादनहरू, महिला तथा स्थानीय स्तरमा उत्पादित वस्तुहरू महोत्सवको प्रमुख आकर्षण रहेको प्रचारप्रसार समितिले जनाएको छ । कुन ठाउँमा कुन बस्तु उत्पादन हुन्छ भनेर एकपटक महोत्सव भ्रमण गर्नुपर्ने आयोजकले जनाएको छ ।

संग्रहालय, उद्योगीहरूका बारेमा परामर्श लिन चाहे परामर्श स्टलको व्यवस्था, स्थानीय मौलिक कला, संस्कृति, परम्परा, रीतिरिवाज र प्राकृतिक सम्पदाहरूबारे जानकारी लिन सकिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहीबार