कोहलपुर ।
कोहलपुरका व्यापारी तथा सर्वसाधारणले अगैया घाटको सरसफाइ गरेका छन् । बुधबार अगैया घाटमा मलामी गएका कोहलपुर बजार क्षेत्रका उद्योगी, व्यापारी तथा सर्वसाधारणले घाटको सफाइ गरेका हुन् ।
कोहलपुर पिपलचौतारा निवासी रामनाथ पोखरेलको मृत्युमा बुधबार अगैया घाट पुगेका कोहलपुरका व्यापारी तथा सर्वसाधारणले घाटवरपरको फोहोर बटुलेर जलाएका थिए । कोहलपुरकै स्थानीय व्यापारी तथा लेखक सागर गैरेको अगुवाइमा उनीहरूले घाटवरपर सफाइ गरेको व्यापारी शालिकराम लम्सालले जानकारी दिए ।
‘मलामी आएकाहरूले खाएर फालेका बिस्कुट, चाउचाउ, गुट्खाका खोल, पानीका बोतललगायतका कारण घाट अत्यन्तै फोहोर रहेछ,’ घाट सफाइको नेतृत्व गरेका सागर गैरेले भने, ‘सबै मिलेर घाटवरपर सफा गरेर फोहोर जलाएका छौँ । अहिले घाट सफा र चिटिक्क भएको छ ।’
प्रायः मलामी जानेहरूले घाटवरपर फोहोर गरिदिने तर सफाइमा कसैले ध्यान नदिने गरेको उनले बताए । ‘मलामी आउने सबैले यसरी नै घाट सफा गरिदिए कति जाती हुन्थ्यो,’ उनले भने, ‘यो सफाइले अब आउने अरूलाई पनि पाठ बनोस् भनेर हामीले सफाइ गरेका हौँ ।’ उनले घाटवरपर जथाभावी फोहोर नगरिदिन पनि सबैसँग आग्रह गरे ।
लेखक गैरेका अनुसार झन्डै एक सय जना कोहलपुरका व्यापारीले सो सफाइ अभियानमा सहभागिता जनाएका थिए । शालिकराम लम्साल, नमराज पौडेल, आनन्द काफ्ले, बलबहादुर खड्का, डिलाराम पौडेल, बिष्णु लम्साल, सीएम उपाध्याय, श्याम भुजुवालगायत कोहलपुरका थुप्रै व्यवसायीहरू सो सफाइ अभियानमा जुटेको उनले बताए ।
नदीकिनार फालिएका बोतल, प्लास्टिक र लत्ताकपडाले घाट अस्तव्यस्त र फोहोर भएकाले सबै मिलेर सफाइ गरिएको लम्सालले जानकारी दिए । आगामी दिनमा पनि सफाइलाई निरन्तरता दिनु जरुरी रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्