कोहलपुर ।
वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, पोखरामा रहेको हरित संस्था (एलुमुनि एसोसिएसन फर कन्जरभेसन एन्ड डेभलपमेन्ट)ले माघ २४ र २५ गते यस वर्षको विश्व सीमसार दिवस मनाउने भएको छ ।
हरेक वर्ष फेबु्रअरी २ मा मनाइने विश्व सीमसार दिवस यो वर्ष बाँके जिल्लामा अवस्थित सुतौया (कन्वा) तालमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको संस्थाका अध्यक्ष धिराजन परियारले बताए ।
यो वर्ष ‘सीमसार–मानव हितको आधार’ भन्ने मूल नाराका साथ विश्वव्यापी रूपमा यो दिवस मनाउन लागिएको हो । उक्त दिवसका अवसरमा बैजनाथ गाउँपालिका वडा नम्बर ३ स्थित सुतौया (कन्वा) तालको दीगो विकास, संरक्षण र व्यवस्थापनका लागि बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बाँके, बैजनाथ गाउँपालिका बाँके, देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह तथा अन्य संघसंस्थाको सहकार्यमा कार्यक्रम हुन लागेको हो ।
सीमसारले पर्यावरण सन्तुलन, पानी शुद्धीकरण, वन्यजन्तुको बासस्थान, मनोरञ्जन, अनुसन्धान तथा शैक्षिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । सीमसार मुख्यतः पानीमा आश्रित चरा, जिवजन्तुका लागि नभई नहुने तत्व भएको अध्यक्ष परियारले जनाए ।
कार्यक्रम सफल बनाउन संस्थाका सबै सदस्यहरूले आ–आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न अध्यक्ष परियारले आग्रह गरे ।