रोकिएन अबैध कारोबारः नाकाबाट २ अर्ब २७ करोडको मात्र बैध आयात



नेपालगन्ज ।
दैनिक ठूलो मात्रामा भारतीय चामल तस्करीबाट नेपालगन्ज भित्रिन्छन् । किनमेलका लागि मात्रै नभई व्यावसायिक परियोजनका लागि पनि ठूलो मात्रामा हुने चामलको तस्करी कहिलेकाहीँ प्रहरी प्रशासनको नजरमा पर्छ ।

बाँके प्रहरीले केही समयअघि नेपालगन्जका प्रतिष्ठित राइस मिलमा छापा मारेर भारतीय तस्करीको चामल भित्र नेपाली ब्रान्डमा बेचिरहेको अवस्थामा फेला पारेको थियो । अबवैध नामबाट चामलको तस्करी यसरी भइरहेको छ भने बैध नाकाबाट नै ठूलो मात्रामा चामल आयात भएको पाइएको छ ।

आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि पुससम्मको तथ्यांकलाई मात्रै केलाउने हो भने २ अर्ब २७ करोड रुपैयाँको चामल मात्रै आयात भएको पाइएको छ ।  नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुससम्म यो नाका हुँदै २ अर्ब २७ करोड मूल्यको १८ हजार ५ सय ३८ मेट्रिक टन चामल आयात भएको छ ।

बैध नाकाबाट यो परिमाणमा चामल आयात हुने गरेको भए पनि अबैध नाकाबाट कति भित्रिन्छ भन्ने यकिन हुँदैन । नेपाल–भारत खुला सीमानाका कारण पछिल्लो समय चामलको तस्करी बढेका कारण आयात घटेको देखिन्छ । जसले गर्दा स्वदेशी राइस मिल उद्योगहरू नराम्ररी प्रभावित भएका छन् ।

तस्करीबाटै भारतीय चामल नेपालगन्जका घर र व्यावसायकि प्रतष्ठिानसम्म पुग्ने गरेको पाइएको छ । प्रहरीले नै पटक–पटक छापा मारेर त्यस्ता मिलबाट अवैध चामल बरामद गरिसकेकाले पनि यहाँ अबैध बाटोबाट ठूलो परिमाणमा चामल आयात हुने गरेको प्रस्ट हुन्छ । जसको सिधा असर यहाँका चामल मिल र भन्सार राजस्वमा परेको छ ।

पछिल्लो समय साइकल, ठेला र मोटरसाइकलमा भारतबाट अवैध किसिमले २५ किलोको स्टार, सनमुन, पालकी जस्ता चामल आयात भइरहेको छ । चामल उद्योग र पसलले अबैध रूपमा चामल ल्याएर बोरा परविर्तन गरी आफ्नो उद्योगको नामको बोरामा भरेर बिक्री गर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले पुस त्यस्ता मिलमा छापा मारेर कारबाही गरिएको जानकारी दिए ।
चामलको आयात घट्नुमा भारतले नेपाल निर्यातमा लगाएको कर पनि अर्को कारण भएको व्यवसायीहरू बताउँछन् । भारत सरकारले निर्यातमा कर लगाएपछि नेपालमा धान, चामल र कनिकाको आयात घटेको हो ।

कर वृद्धिसँँगै तस्करी मुख्य समस्या रहेको पाइएको छ । भन्सार राजस्व चुहावट नियन्त्रणमा जुटेका निकायकै मिलेमतो र आँखासमेत छलेर नेपालगन्जका विभिन्न नाकाबाट चामल तस्करी हुँदै आएको छ । त्यसरी नेपालगन्जमा ल्याइएको चामल कर्णालीलगायतका जिल्ला पठाउने गरिएको छ ।

प्रकाशित मिति : २०८० माघ २४ गते बुधबार