आर्थिक मन्दीको चपेटामा पशु हाटबजार



नेपालगन्ज ।
आर्थिक मन्दीको असर घरपालुवा पशुको किनबेचमा पनि परेको छ । व्यवसायीहरूका अनुसार कारोबार आधा घटेको छ । पश्चिम नेपालकै ठूलो पशु हाट बजार बाँकेको जानकी गाउँपालिका–३ स्थित रम्भापुर पशु हाट बजारमा आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव देखिएको हो ।

‘पहिलो दिनमै करोडको कारोबार हुन्थ्यो । अहिले ४०÷५० लाखमै खुम्चिएको छ,’ पशु हाट बजार व्यवस्थापन समितिका उपाध्यक्ष दिलीप बर्मा बताउँछन् । उनका अनुसार आर्थिक मन्दीसँग भारतबाट बिक्रीका लागि आउने पशुमा रोक लगाएपछि पनि कारोबार घटेको हो ।

पश्चिम तराईका पशुपालक किसानलाई पशु खरिद–बिक्रीमा ठूलो सहयोग पु¥याएको छ । नेपालगन्ज नजिकको साप्ताहिक पशु हाट बजारमा कुनै दिन त एक दिनमै झन्डै एक करोड रूपैयाँको कारोबार हुने गरेको छ । तर अहिले आर्थिक मन्दीको असर परेकाले ४०÷५० लाखको कारोबार हुने गरेको व्यवसायीहरू बताउँछन् ।

राँगा, भैँसी, गाई–गोरुलगायतका पशुबस्तुको किनबेच हुने हाटमा अचेल कारोबार घटेको तर सिजनमा बढ्ने हाट बजार व्यवस्थापन समितिका उपाध्यक्ष बर्मा बताउँछन् ।

साप्ताहिक रूपमा शनिबार लाग्ने हाटमा काठमाडौँ र सीमावर्ती भारतका बहराइच, श्राबस्ती, सीतापुर र लखिमपुर जिल्लाका व्यापारी र किसानसमेत आउने गरेका भए पनि अहिले सरकारी प्रतिबन्धले भारतीय रोकिएका छन् । त्यसबाहेक बर्दिया, सुर्खेत, दाङ, कैलाली र सल्यानलगायत जिल्लाबाट अहिले पनि आइरहन्छन् ।

पशु हाटका लागि बैशाख, जेठ र असार पिक सिजन मानिन्छ । त्यो बेला कारोबार दोब्बर बढी हुन्छ । एक दिनमा अढाइ सयसम्म पशु बिक्री हुने गरेको बर्मा बताउँछन् ।

प्रकाशित मिति : २०८० माघ २४ गते बुधबार