सनत सापकोटा । कोहलपुर ।
कृषि बजार सञ्चालनका लागि भन्दै कोहलपुर उद्योग वाणिज्य संघले पाँच वर्षअघि लिजमा लिएको जग्गा उपयोग हुन नसकेर अलपत्र अवस्थामा छ । सो जग्गामा लुम्बिनी प्रदेश कृषि मन्त्रालयले गरेको २० लाख रुपैयाँ लगानी ‘बालुवामा पानी’ जस्तै भएको छ । कृषि हाट बजार सञ्चालन गर्ने भन्दै संघले पाँच वर्षअघि कोहलपुर–११ स्थित करिब ६ कठ्ठा जग्गा लिजमा लिएको थियो । तर सो जग्गामा बजार बन्नु त कता–कता अहिलेसम्म सामान्य संरचनामात्र बनेर त्यत्तिकै अलपत्र अवस्थामा छोडिएको छ ।
स्रोतका अनुसार मन्त्रालयको २० लाख र संघको २ लाखसमेत गरी २२ लाख रुपैयाँ माटो पाट्ने र पर्खाल लगाउने काममै सकिएको छ । सरोकारवाला निकायको उदासीनताकै कारण सो जग्गा उपयोगहीन अवस्थामा रहेको यस क्षेत्रका व्यापारीको भनाइ छ । कोहलपुर उद्योग वाणिज्य संघमा चक्र अधिकारी नेतृत्वको अघिल्लो कार्यसमितिले कोहलपुरकै मदन थारूको ५ कठ्ठा १६ धुर जग्गा भाडामा लिने निर्णय गरेकोे थियो । तर सो जग्गा जग्गावाल थारूसँग नभएर संघले दोस्रो व्यक्ति कृष्णप्रसाद पौडेलसँग वार्षिक ७० हजार रुपैयाँ भाडा तिर्ने गरी २० वर्षका लागि सम्झौता गरेको थियो ।
पौडेलले सपोर्ट सेन्टर फर सस्टेनेबल एग्रिकल्चर फरेस्ट्री एन्ड फिसरिज प्रालि सञ्चालनका लागि भन्दै सो जग्गा थारूसँग भाडामा लिएका थिए । तर त्यहाँ न पौडेलले कुनै कम्पनी सञ्चालन गरे न संघले नै कृषि हाट बजार सञ्चालनमा ल्यायो । अहिले सो जग्गा कम्पाउन्ड घेरेर त्यत्तिकै छोडिएको अवस्थामा छ । ‘हामीले कृषि हाट बजार सञ्चालनका लागि त्यो जग्गा भाडामा लिएका थियौँ,’ कोहलपुर उद्योग वाणिज्य संघका तात्कालीन अध्यक्ष चक्र अधिकारीले भने, ‘तर पैसा जुटाउन नसक्दा अन्य संरचना बनाउन र बजार सञ्चालन गर्न सकेनौँ ।’
उनले मिसन टुडेसँग धेरै कुरा गर्न चाहेनन् । धेरै वर्षअघिको कुरा भएकाले सबै कुरा सम्झना नभएको र संघमै गएर त्यसको अभिलेख हेर्न अधिकारीले जबाफ दिए । संघले पछिल्लो समयमा तेस्रो पक्षसँग सम्झौता रद्द गरेर जग्गाधनी मदन थारूसँग नै फेरि नयाँ सम्झौता गरेको छ । संघको नेतृत्वमा लक्ष्मणराज पौडेल आएपछि २०८० सालमा उत्ति नै भाडा कायम रहनेगरी १५ वर्षका लागि नयाँ सम्झौता गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
‘संघले बेकारमा बीचमा अर्को पक्षसँग किन सम्झौता गर्नुप¥यो,’ पौडेलले भने, ‘हामीले डाइरेक्ट जग्गावालसँग सम्झौता गर्छौैं होइन भने कानुनअनुसार जाऊँ भनेपछि जग्गावाल हामीसँग सम्झौता गर्न राजी भएका हुन् ।’ नयाँ सम्झौतापछि त्यहाँ शौचालय बनाउने तथा केही संरचना निर्माण गर्ने काम भएको छ । ‘हामीले केही संरचना बनाएर तीन महिनाअघि भाडाका लागि आह्वान पनि ग¥यौँ,’ अध्यक्ष पौडेलले भने, ‘तर व्यापारीहरू त्यति इच्छुक देखिएनन् ।’ जम्मा चार जना व्यापारीले मात्र त्यसका लागि आवेदन दिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
सो स्थानमा व्यवस्थित कृषि हाट बजार सञ्चालन गर्ने भन्दै संघले लुम्बिनी प्रदेश कृषि मन्त्रालयबाट २० लाख रुपैयाँ अनुदान सहयोगसमेत ल्याएको थियो । कोहलपुर वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि मन्त्रालयबीच साझेदारी मोडलमा ४० लाखको सम्झौता भएको थियो । जसमा मन्त्रालयले २० लाख र उत्ति नै संघले थपेर संरचना तयार गर्ने सम्झौता थियो । सोही आधारमा मन्त्रालयले २० लाख बजेट विनियोजन ग¥यो । सोही रकमबाट त्यहाँ माटो पटान, पर्खाल तथा शौचालय निर्माण गरिएको हो ।
संघले अहिले त्यहाँ सामान्य संरचना तयार पारेर भाडामा दिन चाहे पनि स्थानीय व्यापारीहरू अनिच्छुक देखिएपछि सो संरचना त्यत्तिकै रहेको छ । निर्मित संरचनामा व्यवसाय गर्न व्यापारीले चासो नदिएपछि र त्यहाँ बजार विस्तारको वातावरण नदेखिएपछि संघले आफ्नातर्फबाट गर्नुपर्ने २० लाख रुपैयाँबराबरको लगानी गर्न हच्किएको छ । हालसम्म संघले त्यहाँ सामान्य संरचना निर्माणका लागि अपूग भएको २ लाख रुपैयाँमात्र लगानी गरेको स्रोत बताउँछ ।
अर्कातिर संघले सो स्थानमा बजार सञ्चालन गर्न नसक्नुमा वर्तमान नगर प्रमुख र संघको नेतृत्वबीचको व्यक्तित्व टकराव प्रमुख कारक रहेको धेरैको बुझाइ छ । नगरपालिकाको असहयोगका कारण सो स्थान उपयोगहीन बन्न पुगेको कोहलपुर उद्योग वाणिज्य संघका एक पदाधिकारीले बताए । ‘यो अरू केही होइन, नगरपालिकाका मेयर र संघ अध्यक्षबीचको टकरावले त्यो ठाउँ खाली बस्नुपरेको हो,’ उनले भने, ‘नगरपालिकाले नगरभित्रका अव्यवस्थित र खुद्रा व्यापारीलाई त्यहाँ राख्ने व्यवस्था गरिदिने हो भने सस्तो दरमा व्यापारीले पनि ठाउँ पाउँछन् । सो जग्गाको पनि उपयोग हुन्छ ।’
कोहलपुर नगरपालिकाले नगरभित्र सडकपेटीमा राखिएका ठेला गाडा हटाउने निर्णय गरे पनि ती व्यापारीका लागि उचित ठाउँको व्यवस्थापन गर्न नसकेको उनले जनाए । अर्कातिर संघले भाडामा लिएको जग्गा वर्षौंदेखि खाली छोड्नुपरेको छ । कोहलपुरमा २०६० सालदेखि कृषि थोक बजार सञ्चालन हुँदै आएको छ । सहायक बाली विकास आयोजनाद्वारा २०५५ सालमा निर्मित भवनलाई परिष्कृत गरेर त्यहाँ कृषि थोक बजार सञ्चालन हुँदै आएको हो ।
तर खुद्रा व्यापारका लागि भने अझै ठाउँ अभाव छ । खुद्रा कृषि व्यापारका लागि सो ठाउँ उपयुक्त हुने ती पदाधिकारी बताउँछन् । कोहलपुर थारू गाउँपछाडि भित्रपट्टि रहेको सो जग्गा सबैखाले व्यापारका लागि उपयुक्त नभएको कतिपय व्यापारीहरूको भनाइ छ । त्यस्तो ठाउँमा जग्गा भाडामा लिएर संघले अनावश्यक खर्च बढाएको पनि कतिपय लाग्छ । कोहलपुरकै एक व्यापारी भन्छन्– ‘बिना योजना र लगानी त्यो जग्गा भाडामा लिइयो । अहिले आएर संघलाई त्यो जग्गा निल्नु न ओकल्नु भएको छ ।’
अध्यक्ष पौडेललाई पनि त्यो जग्गा भाडामा लिनु अघिल्लो कार्यसमितिको परिपक्वता नभएको लाग्छ । ‘तर अब संघले भाडामा लिइसकेपछि त्यसलाई कसरी उपयोगमा ल्याउन सकिन्छ भनेर हामीले सोचिरहेका छौँ,’ अध्यक्ष पौडेल भन्छन्, ‘अब संघमा जो आए पनि त्यसलाई उपयोग गर्नेतिर सोच्नै पर्छ ।’ उनले अब व्यवसायीहरूका लागि गोदाम या यस्तै अन्य प्रयोजनका लागि भाडामा दिएर भए पनि सो जग्गाको उपयोेग गरिने बताए ।
तर लामो समय बितिसक्दा पनि सो जग्गाको उपयोग हुन सकिरहेको छैन । संरचनाबिनाको कम्पाउन्डिङ गरिएको खाली जग्गामा यत्तिकै न कुनै व्यापार गर्न सकिने अवस्था छ न जग्गामा कुनै उत्पादन नै गर्ने गरिएको छ । वर्षौंदेखि सो जग्गा बाँझैसमेत रहँदै आएको छ । संघले सो जग्गामा बजार सञ्चालन गर्न नसकेको मात्र होइन सो जग्गाको नियमित भाडासमेत तिरिएको छैन । अहिलेसम्म आफूलाई जम्मा दुई वर्षको मात्र भाडा दिइएको जग्गावाल मदन थारूले बताए । आफूले कृष्णप्रसाद पौडेलसँग सम्झौता गरेकाले उनले नै आफूलाई भाडा दिनुपर्नेमा अझै तीन वर्षको भाडा नदिएको गुनासो गरे ।
‘खै दिउँला दिउँला भन्छन्,’ उनले भने, ‘तर अझै तीन वर्षको भाडा दिएका छैनन् । साथी पनि भएकाले मैले पनि कर गर्न सकेको छैन ।’
तर पौडेलको भने कुरा बेग्लै छ । मदनसँग आफूले सम्झौता गरेलगत्तै वाणिज्य संघले सो जग्गा उपयोग गर्ने सहमति भएकाले त्यसको भाडा संघले नै तिर्ने पौडेलको भनाइ छ । पौडेलमार्फत संघले दुई वर्षको भाडा पनि तिरेको छ । तर बाँकी ३ वर्षको भाडा कोबाट लिने भन्नेमा मदन अन्योलमा छन् । कृषि हाट बजारका लागि मन्त्रालयसँग गरेको सम्झौता पनि पौडेलकै सपोर्ट सेन्टरका नाममा भएको पौडेल बताउँछन् ।
पौडेलले वार्षिक ६८ हजार रुपैयाँ भाडामा जग्गावाल थारूसँग सम्झौता गरेका थिए । तर आफूले कम्पनी सञ्चालन गर्न नसकेपछि उनले दुई हजार रुपैयाँ बढाएर वार्षिक ७० हजार रुपैयाँमा संघसँग सम्झौता गरेका थिए । तर पनि जग्गा उपयोग हुन सकेन । सो जग्गा उपयोग गर्ने सवालमा सरोकारवाला निकाय कसैले पनि अहिलेसम्म चासो दिएका छैनन् ।
आफ्नो लगानी परेको लुम्बिनी प्रदेश कृषि मन्त्रालयलाई पनि सो लगानीबारे खासै चासो छैन । मन्त्रालयले हचुवाका भरमा गरेको लगानी त्यत्तिकै खेर गएको कोहलपुरका कतिपय व्यापारीको आरोप छ । कोहलपुरकै आरती पौडेल लुम्बिनी प्रदेशकी तात्कालीन कृषि मन्त्री भएका बेला संघले मन्त्रालयसँग सो सम्झौता गरेको थियो ।
कोहलपुरमा अग्र्यानिक कृषि हाट बजार सञ्चालन गर्नका लागि साझेदारी मोडलमा मन्त्रालय र संघबीच सम्झौता भएको तात्कालीन कृषि मन्त्री पौडेलले बताइन् । ‘मन्त्रालयको कर्मचारी टोलीले सो स्थानको अवलोकन पनि गरेको थियो,’ पूर्वमन्त्री पौडेलले भनिन्, ‘त्यसपछि के–के भयो मलाई थाहा भएन ।’ त्यही आधारमा मन्त्रालयले पैसा निकासी पनि गरिदियो । तर त्यो पैसाको सही सदुपयोग भने हुन सकेन । त्यसपछि मन्त्रालयले पनि चासो दिन छोडेको छ ।
जिम्मेवार निकायले अपनत्व लिन नचाहनुले नै यो जग्गा उपयोगमा आउन नसकेको देखिन्छ । कुनै व्यक्ति वा संस्थाको नभएर राज्यको पैसा फसेकाले त्यसमा प्रायः कसैले चासो नदिएको कोहलपुरका एक व्यापारीले बताए । अझै पनि सो जग्गा उपयोगमा ल्याउन सकिने प्रशस्त सम्भावना रहेको उनको भनाइ छ । नगरपालिका र संघबीच समन्वय हुने हो भने सो जग्गा खाली छोड्नु नपर्ने स्थानीय व्यापारीहरूको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस्