14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

हुम्लामा पुनः हिमपात सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ १८, २०८०  

खुम बहादुर रावत
हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । बिहीबार बिहानैदेखि हुम्लामा हिमपात भएको हो । बुधबार मौसममा बदली भई रातिदेखि हुम्लामा हिमपात सुरु भएको छ । गत वर्ष माघबाट हिमपात सुरु भए पनि यस वर्षको पहिलो हिमपात मंसिर १८ गते भएको थियो । हुम्लामा योसहित दोस्रो पटक हिमपात भएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । हिमपातले हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध भएको छ ।

हुम्लाको माथिल्लो क्षेत्र नाम्खा गाउँपालिकाको लिमी, यारी, चाला क्षेत्रमा पनि भारी हिमपात भएको छ । बिहानैदेखिको प्रतिकूल मौसमपश्चात हिउँ पर्न सुरू भएको हो । लामो समयदेखि हिउँदेझरी र हिउँ नपर्दा निराश बनेका किसानहरू बिहीबारदेखि हिउँ पर्न थालेपछि खुसी भएको स्थानीय प्रेम शाहीले बताए । हिउँदे वर्षा र हिमपातले खेतीपाती र पशुपालनलाई तत्काल प्रतिकूल असर गरे पनि यसले बालीनालीलाई राम्रो गर्ने भएकाले कृषकहरू खुसी छन् । नाम्खा गाउँपालिका लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायतका स्थानमा बढी हिमपात भएको छ भने सिमकोट गाउँपालिकाका ८ वटै वडामा हिमपात भएको छ ।

त्यस्तै खार्पुनाथ, सर्केगाडा,चंखेली, अदानचुली र ताजाकोट गाउँपालिकामा भने उच्च स्थानमा हिमपात र होचा खोँचमा पानी परिरहेको छ । बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको छ । हिमपातले हुम्लाको जनजीवन कष्टकर बनेको छ । उत्तरी हुम्लाको जनजीवन झन् कष्टकर बनेको नाम्खा गाउँपालिका स्रोतले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, माघ १८, २०८०     1:16:18 PM  |