16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

वित्तीय अनुशासनका लागि लेखापाल तालिम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ १४, २०८०  

नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाले सहकारीहरूमा वित्तीय सुशासन कायम गर्ने उद्देश्यले सहकारी लेखापाल तालिम दिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहकारी शाखाको आयोजनामा सात दिने तालिम दिइएको हो । नेपालगन्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका सहकारीका लेखा कर्मचारीहरूलाई तालिम दिइएको हो ।

४० वटा सहकारीका ४० जना लेखा कर्मचारीहरूलाई तालिम दिइएको सहकारी शाखा प्रमुख प्रवीण रानाले बताए । तालिम समापन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले आर्थिक कारोबारमा अभिलेख दुरुस्त हुनुपर्ने बताए ।

खड्काले राम्रो गर्नेलाई सम्मान र खराबलाई कारबाहीको दायरामा ल्याइने बताउँदै सहकारी सुधारका लागि अनुगमनलाई प्रभावकारी बनाइने उल्लेख गरे । आर्थिक विकास समिति संयोजक गोपाल पुनले सहकारीहरूको लेखालाई व्यवस्थित गर्न तालिम लाभदायी हुने विश्वास व्यक्त गरे।

जिल्ला सहकारी संघका प्रबन्ध सञ्चालक एवम् तालिमका प्रशिक्षक नवराज उपाध्यायले संस्थागत सुशासनका लागि सञ्चालित तालिम महत्वपूर्ण कदम भएको बताए । तालिममा नेपालगन्ज उपमहानगरपालिकाका लेखा अधिकृत राजनकुमार केसी, नेप्स्कुन बाँकेका कार्यालय प्रमुख छत्रप्रसाद धमालालगायले प्रशिक्षण दिएका थिए ।

 

प्रकाशित मितिः आइतवार, माघ १४, २०८०     9:05:56 AM  |