16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

लिजामा डुडुवा गाउँपालिका बाँकेकै उत्कृष्ट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ १२, २०८०  

डुडुवा ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा बाँकेको डुडुवा गाउँपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को नतिजाअनुसार डुडुवा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको हो ।

आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको सार्वजनिक प्रतिवेदनमा डुडुवा गाउँपालिकाले १०० पूर्णांकमा ९२.२५ प्रतिशत ल्याई जिल्लाकै उत्कृष्ट भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए । स्वमूल्यांकनको कार्यविधिअनुरूप पालिकाले प्रवाह गर्ने सेवा तथा कार्यसम्पादनलाई प्रमाणका आधारमा मूल्यांकन गरिएको हो ।

डुडुवा गाउँपालिकाले शासकीय प्रबन्धमा ८.५ अंक, संगठन तथा प्रशासनमा ७.५ अंक, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११ अंक, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ११ अंक, सेवा प्रवाहमा १५.५ अंक, न्यायिक कार्य सम्पादनमा ७ अंक, भौतिक पूर्वाधारमा ६.५ अंक, सामाजिक समावेशीकरणमा ८.७५ अंक, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७ अंक र सहकार्य र समन्वयमा ३ अंक ल्याएको लिजाको वेभसाइटमा राखिएको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय तहका १० वटा विषयगत क्षेत्रलाई पालिकाले विभिन्न ऐन, कानुन, कार्यविधि, निर्णय प्रक्रियालगायतका कागजातहरूको प्रमाणका आधारमा एक सय वटा सूचकलाई विशलेषण गरी अंक निर्धारण गर्ने गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय महाशाखाका शाखाअधिकृत चिरञ्जीवी नेपालले जानकारी दिए ।

यस्तै लिजामा कोहलपुर नगरपालिकाले ८७.७५ प्रतिशत, जानकी गाउँपालिकाले ८१.२५ प्रतिशत, खजुरा गाउँपालिकाले ८० प्रतिशत, बैजनाथ गाउँपालिकाले ७५.२५ प्रतिशत, राप्ती सोनारी गाउँपालिकाले ७४.७५ प्रतिशत, नरैनापुर गाउँपालिकाले ७० प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकाले ६७.५ प्रतिशत अंक ल्याएका छन् ।

 

प्रकाशित मितिः शुक्रबार, माघ १२, २०८०     8:35:14 AM  |