विपन्न मजदुरलाई वडाले गरिदियो बिमा



नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिका–१ को कार्यालयले विपन्न मजदुरको बिमा गर्न सुरु गरेको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको एक लाखसम्मको म्यादी लघुजीवन बिमा बुधबारदेखि सुरु गरेको हो । त्यसका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरिएको छ ।

वडासचिव भुविन्द्रप्रसाद कँडेल, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स नेपालगन्जका प्रबन्धक लक्ष्मी विष्टको उपस्थितिमा वडाध्यक्ष प्रमोद रिजाल र इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक विमल खड्काले मंगलबार सम्झौता गरेका हुन् । सम्झौता अनुसार, १८ वर्षदेखि ५५ वर्षका मानिसको बिमा गरिनेछ ।

१८ वर्ष उमेरको हकमा २ सय ७९ रुपैयाँ र ५५ वर्षको उमेरको १ हजार १ सय ३५ रुपैयाँ तिरेर बिमा हुन्छ । विपन्न वर्गका कामदारको वडा कार्यालयले नै रकम तिरेर बिमा गरिदिने वडाध्यक्ष रिजालले जानकारी दिए । एक लाखको जीवन बिमामा दुर्घटना भएर बिमितको मृत्यु भएमा उसका परिवारले २ लाख रुपैयाँ र क्रियाखर्च २५ हजार पाउने इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक खड्काले बताए ।

यो बिमा एक वर्षका लागि हुनेछ । अर्को वर्ष गर्न चाहेमा फेरि बिमा गर्नुपर्छ । वडाध्यक्ष रिजालका अनुसार सवारी चालक, उद्योगमा काम गर्ने कामदार, डकर्मी, सिकर्मी, पेन्टिङ व्यवसाय गर्ने, कुनै पनि मजदुरी गर्ने, कृषि मजदुरलगायतका श्रम गरी खाने वडाका नागरिकहरूको बिमा गर्न लागिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८० माघ ११ गते बिहीबार