जमुनाह नाकामा पर्यटन क्षेत्रको दुर्दशाःअध्यागमन ठप्प, पर्यटन सूचना केन्द्र अलपत्र



बाँकेलाई आन्तरिक तथा बाह्य पर्यटनको ‘हब’ बनाउने भन्दै बहस र छलफल भइरहेका बेला पर्यटक प्रवेशद्वार जमुनाह नाकामा निर्माण गरिएका पर्यटनसँग सम्बन्धित पूर्वाधार अलपत्र अवस्थामा छन् । नेपालगन्जमा रहेका क्यासिनोका काउन्टरले भरिभराउ जमुनाहनजिकै पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ तर त्यसले कुनै काम गर्दैन ।

कमल डाँगी । नेपालगन्ज ।
बाँकेलाई आन्तरिक तथा बाह्य पर्यटनको ‘हब’ बनाउने भन्दै बहस र छलफल भइरहेका बेला पर्यटक प्रवेशद्वार जमुनाह नाकामा निर्माण गरिएको पर्यटनसँग सम्बन्धित पूर्वाधार अलपत्र अवस्थामा छन् । नेपालगन्जमा रहेका क्यासिनोका काउन्टरले भरिभराउ जमुनाह नजिकै पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ तर त्यसले कुनै काम गर्दैन ।

निजी लगानीका क्यासिनोका जमुनाहमा थुप्रै काउन्टर छन् जहाँबाट क्यासिनो खेल्न आउनेलाई ल्याउने–लैजाने गरिन्छ । ती काउन्टरनजिकै स्थापना गरिएको पर्यटन सूचना केन्द्र प्रयोगविहीन अवस्थामा छ । भारतबाट नेपालगन्ज हँुदै भित्रिने पर्यटकलाई लक्षित गरेर दुई वर्षअघि उक्त केन्द्र स्थापना गरिएको थियो । लुम्बिनी प्रदेश सरकारको बजेटमार्फत नेपालगन्ज उपमहानगरपालिकाको प्राविधिक सहयोगमा भवन निर्माण कार्य सम्पन्न भएको थियो ।

पर्यटन सूचना केन्द्र भवन निर्माण भएको धेरै भइसक्यो, तर अहिलेसम्म त्यो भवन कस्ले प्रयोग गर्ने भन्ने टुंगोसमेत लाग्न सकेको छैन । पर्यटन सूचना केन्द्र पर्यटन डिभिजन कार्यालय वा पर्यटन बोर्डमध्ये कस्लाई प्रयोग गर्न दिने भन्नेमै टुंगो लाग्न नसकेको हो । पर्यटन सूचना केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने बजेट र कर्मचारीको व्यवस्थापन हुन सकेको छैन । पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले एक वर्षअघि पर्यटन सूचना केन्द्र स्थापना भएकोमा यतिका समय बित्दासमेत सञ्चालनमा नआउँदा भारतबाट आउने पर्यटकले सेवा पाउन नसकेको बताए ।

‘यो नाकाबाट आउने पर्यटकलाई यस क्षेत्रका पर्यटकीय गतिविधि जान्न, बुझ्न सहजता होस् भनेर नै स्थापना गरिएको थियो, तर कर्मचारी नरहेको अवस्था छ,’ उनले भने । भारतबाट आउने पर्यटकका लागि नेपालका पर्यटकीय स्थलका बारेमा केन्द्रले डिस्प्लेसहित जानकारी गराउने मन्त्रालयको अवधारणा छ ।

‘प्रदेश सरकारको यो एकदमै राम्रो अवधारणा हो, सूचना केन्द्रका लागि भवन त बन्यो, तर केन्द्रले कर्मचारी र बजेट नपाउँदा प्रयोगविहीन बन्न पुग्यो,’ श्रेष्ठले भने । लुम्बिनी प्रदेश सरकारले चाँडोभन्दा चाडो पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याउनुपर्ने यहाँका पर्यटन व्यवसायीको माग छ । एकातिर बनेकै पूर्वाधार यसरी अलपत्र छ भने अर्कोतिर भारतका कारण यो नाका हुँदै आउने तेस्रो मुलुकका पर्यटकको आगमन कोभिड–१९ पछि ठप्प रहेको तथ्यका बारेमा कोही बोल्दैनन् । उक्त विषय कसैको चासो भित्र परेको छैन ।

कोभिडका कारण उत्पन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै २०७६ फागुनतिर भारत सरकारले सबै विदेशी नागरिकका लागि भारत आउने भिसा रद्द गरिदिएको थियो । जसका कारण भारतीय स्थलमार्ग हुँदै नेपाल छिर्ने तेस्रो मुलुकका पर्यटकको समेत बाटो बन्द थियो । तर कोभिड समस्या समाधान भइसकेपछि भैरहवालगायतका अन्य नाकाका स्थलमार्गबाट पर्यटकको आवागमन सुचारु भए पनि नेपालगन्ज र सुदूरपश्चिमका नाकामा भने सूचारु हुन सकेको छैन ।

अध्यागमन कार्यालय नेपालगन्जका अनुसार कोभिड अघिसम्म वार्षिक ६ सय जति तेस्रो मुलुकका पर्यटन नेपालगन्ज नाका हुँदै प्रवेश गर्थे । यसरी प्रवेश गरेका पर्यटकले पश्चिम नेपालका पर्यटकीय स्थल भ्रमण गरी काठमाडौं जान्थे भने काठमाडौंमा ओर्लिएका पर्यटक पश्चिमका विभिन्न पर्यटकीय स्थल घुमेर नेपालगन्ज नाका हुँदै भारत जान्थे । तर अहिले यो सबै काम ठप्प छ ।

‘कार्यालय खोल्ने र बस्ने काम मात्रै भएको छ । अरू त खासै केही काम छैन,’ अध्यागमन कार्यालय नेपालगन्जकी प्रमुख दुर्गा ओलीले भनिन्, ‘अनौपचारिक कुरा गर्दा नेपालगन्ज भन्सार जाँच चौकी सञ्चालनमा आएपछि त्यहीँबाट पर्यटक आगमनको काम सुचारु हुन्छ कि भन्ने आशा पलाएको छ ।’

पर्यटन मञ्च बाँकेका अध्यक्ष कृष्ण श्रेष्ठले सरकारी तहबाट समाधान हुनुपर्ने विषयमा ध्यानार्कषण गराइने बताए । उनले भने, ‘यस्तो दुर्दशाको अन्त्य हुनुपर्छ । हामी समस्या समाधानका लागि सरोकारवाला निकायलाई दबाब दिन्छौँ ।’

  • No tags available
प्रकाशित मिति : २०८० माघ ८ गते सोमबार