कर्मचारीको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम



बुटवल।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदेश ५ मा कार्यरत कर्मचारीहरूको पेसागत दक्षता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको लुम्बिनी प्रदेशस्थित बुटवलमा पुस २७ र २८ गते आयोजना गरिएको कार्यक्रममा ६५ भन्दा बढी कर्मचारी सो प्रशिक्षणबाट लाभान्वित भएका छन् ।

कम्पनीले नेपालमा बिमा प्राधिकरणको निर्देशिका कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि गर्न प्रशिक्षण कार्यक्रम गर्दै आएको छ । नेपाल बिमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्णबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अन्डरराइटिङ, दाबी, मानव संसाधन, ब्रान्डिङ, लेखा र ग्राहक सेवालगायतका विषयमा अन्तक्र्रियात्मक प्रस्तुतीकरण दिइएको थियो ।

प्रशिक्षण कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धकद्वय कविराज पौडेल र सुभाष दीक्षित तथा अन्य विभागीय प्रमुखद्वारा प्रशिक्षण प्रदान गरिएको थियो । सो प्रशिक्षणबाट कर्मचारीहरूमा ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरूले प्रतिक्रिया दिएका छन् । मर्जपश्चात सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बजार बिस्तार र ग्राहक सेवालाई पहिलो प्राथमिकता दिएको छ ।

बजार बिस्तारलगायत ग्राहक सेवामा सबैभन्दा ठूलो भूमिका कर्मचारीहरुकै हुनेहुँदा केन्द्रमा मात्र नभई प्रदेश र जिल्लास्तरका कर्मचारीहरूलाई समेत उत्तिकै दक्ष बनाउने रणनीति अपनाएको कम्पनीले जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८० माघ १ गते सोमबार