तस्बीरः गणेश रावत
नेपालगन्ज ।
मकर संक्रान्ति अर्थात् माघीलाई लक्षित गरी नेपालगन्जलगायत देशैभर कन्दमूलको व्यापार निकै राम्रो हुने गर्छ । तरुल, सख्खरखण्ड, पिँडालु, फर्सीजस्ता खाद्यान्न माघीको अवसरमा सबैभन्दा बढी बिक्री हुन्छन् । माघीको अवसरमा घरघरमा तिलको लड्डु, चाकू, घ्यू, खिर, उसिनेको तरुल, सख्खरखण्ड, पिँडालु र फर्सीलगायत खाने गरिन्छ । माघीमा कन्दमूल खाँदा राम्रो हुन्छ र उष्ण खालका सख्खरखण्ड, पिँडालु, तरुल खाँदा शरीरको चिसो हट्छ भन्ने वैज्ञानिक तथ्य पनि छ ।
माघी पर्वकै बेला तरुल, सख्खरखण्ड, पिँडालुजस्ता कन्दमूल व्यापार पनि बढ्छ । यो अवसरको मौका छोपी व्यापारीहरू जतिसक्यो कमाउने दाउमा रहेको पाइयो । यहाँका हरेक बजारका चोकैपिच्छे फरक–फरक मूल्यमा यस्ता वस्तुहरू बिक्री गरिरहेको पाइएको छ । बिहीबार नेपालगन्जको रानीतलाउ सब्जिमण्डीमा तरुल प्रतिकिलो १ सय ६० र सख्खरखण्ड एक सयसम्म बिक्री भइरहेको व्यवसायी सलिम अन्सारीले बताए । माघीकै दिनसम्म माग हेरेर मूल्य घटबढ हुने व्यवसायीहरू बताउँछन् ।
नेपालगन्जमा कर्णाली प्रदेशमात्रै नभई गण्डकी प्रदेशबाट पनि तरुल ल्याएर बेच्ने गरिएको छ । चाडपर्व र अवसरहरूमा बजार अनुगमन नहुने हुँदा जसले जति सक्छ फाइदा लिएको देखिन्छ । त्यसमा पनि गाउँघरबाट आउने सोझा सर्वसाधारण उपभोक्ता मर्कामा पर्ने गरेका छन् ।
माघेसंक्रान्तिका अवसरमा कोहलपुरमा पनि यस्ता बस्तुको बिक्री ह्वात्तै बढ्ने गरेको छ ।
माघीमा प्रत्येक वर्ष साढे दुई क्विन्टर तरुल बेच्ने गरेको कोहलपुुर नगरपालिका–१२ मा तरकारी पसल सञ्चालन गर्दै आएका रुद्रप्रसाद आचार्यले बताए । ‘म जुवा खेल्दिनँ, तर जुवैस्वरुप प्रत्येक वर्ष माघेसंक्रान्तिका बेला ५० नम्बर तरुल एकैपटक किन्ने गरेको छु,’ उनले भने, ‘कहिले सबै बिक्री पनि हुन्छ, कहिले खेरा पनि जान्छ ।’
माघीका लागि दाङ बाट १ सय क्विन्टल सखरखण्ड ल्याएको विष्णु फलफूल तथा तरकारी खरिद बिक्री केन्द्र कोहलपुरका प्रोपाइटर जय सिंह बुढामगरले बताए । विगतको वर्षमा यो भन्दा दोब्बर २ सय क्विन्टल ल्याउने गरेको उनले जानकारी दिए । यस वर्ष राम्रो सखरखण्ड नभेटिएकाले सय क्विन्टल मात्रै ल्याएको उनले बताए । सेतो सखरखण्ड ४० रुपैयाँ र रातो सखरखण्ड ५० रुपैयाँ प्रतिकेजी थोक मूल्यमा बिक्री गर्दै आएको उनको भनाइ छ ।
माघी नजिकिएकाले सखरखण्ड, तरुललगायत किन्ने ग्राहकहरूको भीड लाग्ने गरेको उनले बताए । त्यस्तै, बजारमा तरुलको माग पनि बढेको छ । माघीभन्दा पहिला केजीको १ सय ५० रुपैयाँ खुद्रा मूल्यमा बिक्री हुने तरुल अहिले १ सय ८० रुपैयाँमा बिक्री हुँदै आएको छ । खुद्रा ८० रुपैयाँमा बिक्री हुने सखरखण्ड बढेर अहिले १ सय रुपैयाँ खुद्रा मूल्यमा किनबेच भएको धनकला शाहीले बताइन् ।
१ सय ५० रुपैयाँमा किनेको तरुल १ सय ८० रुपैयाँमा बेच्ने गरेको र ८० रुपैयाँमा किनेको सखरखण्ड १ सयमा बेच्दै आएको शाहीले जानकारी दिइन् । माघीसम्म लगभग आधा क्विन्टलसम्म तरुल र सखरखण्ड बिक्री गर्ने गरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्