12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

आज मकर (माघे) सङ्क्रान्ति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ १, २०८०  

कोहलपुर ।

माघको पहिलो दिन आज मकर सङ्क्रान्ति, माघेसङ्क्रान्ति अर्थात् माघी । माघेसङ्क्रान्ति नेपालका प्रायः सबै समुदायमा मनाइने एक प्रमुख चाड हो । ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो ।

माघेसङ्क्रान्ति पर्व नेपालभर विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डुु र तरुल सखरखण्ड खाएर मनाइन्छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गंगा सागरलगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भीड लाग्नेगर्छ । त्यस्तै, माघे सङ्क्रान्तिमा नुवाकोटको तारुकामा चर्चित गोरु जुधाउने मेला, दाङको रिहारमा माघी मेला लाग्ने गरेका छन् ।

यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डुु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने विश्वास गरिन्छ । यस पर्वलाई थारू जातिले नयाँ वर्षका रूपमा मनाउँछन् । मगर जातिले यो पर्वलाई माघ्यारसेल्र्हेसका रूपमा मनाउँछन् ।

त्यस्तै, नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघेसङ्क्रान्तिलाई आ–आफ्ना तरिकाले मनाउने गरेको पाइन्छ ।

माघीलाई थारू समुदायमा मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ । यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन छ । माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्षभरिको पाप पखालिन्छ भन्ने मान्यता छ ।

प्रकाशित मितिः सोमवार, माघ १, २०८०     9:36:57 AM  |