खेलाडी छनोटप्रति बाँके क्रिकेट संघको आपत्ति



नेपालगन्ज।
बाँके जिल्ला क्रिकेट संघले सिद्धार्थनगरमा पुस २८ गते शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट तयार भएको प्रदेश क्रिकेट टिमप्रति आपत्ति जनाएको छ । छनोट खेलमा विजेता रहेको बाँके जिल्लाबाट केवल ३ जना मात्र खेलाडी पर्ने गरी २२ जनाको अन्तिम नामावली प्रकाशित गरिएकोप्रति आफूहरूको विरोध रहेको बाँके क्रिकेट संघले एक पत्रमार्फत जनाएको हो ।

बाँके जिल्लाबाट टिममा परेका ३ जना खेलाडी प्रतियोगितामा सहभागी नहुने समेत घोषणा मंगलबार पत्रमार्फत अध्यक्ष सरोवर प्रसाईले गरेका छन् । अध्यक्ष प्रसाईले आफना खेलाडीहरू राम्रो खेल्दै जितेर टप हुँदा पनि राम्रा खेलाडी पर्न नसकेको गुनासो गरे । यसरी छनोट भएमा २–४ वर्षमा बाँके जिल्लाबाट राष्ट्रिय टिममा खेल्ने खेलाडी पर्ने सम्भावना नरहेको उनको भनाइ छ । छनोट चित्त नबुझेका कारण आफूहरूले खेलाडी नपठाउने निर्णय गरेको उनले बताए ।

स्कोर सिट र पर्फमेन्स सबै हिसाबबाट आफ्नो टिमबाट धेरै खेलाडी पर्नुपर्नेमा निष्पक्ष छनोट नभएको उनको गुनासो छ । पुराना खेलाडी मात्र टिममा भर्ने काम भएको उनले दुखेसो पोखे । प्रदेश सदस्य धिरज क्षेत्रीले भने छनौट खेलमा ७ जिल्लाबाट ८४ जनामा खेलाडीहरूले खेल प्रदर्शन गरेको आधारमा अन्तिम २२ जनाको छनोट गरिएको बताए । विजेता टिमबाट धेरै खेलाडी पर्ने सम्भावना कुनै हालतमा नरहेको भन्दै आफूहरूले सही निर्णय गरेको दाबी गरे ।

पुस १२ देखि पुस २२ गतेसम्म सञ्चालन भएको प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको बाँकेले उपाधि जितेको थियो । बाँके जिल्लाका खेलाडीहरूबाट उत्कृष्ट खेल प्रदर्शन गरे पनि त्यही टिमबाट आठ जना पार्नुपर्ने माग न्यायोचित नभएको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० पुस २७ गते शुक्रबार