समितिबाट आफूलाई हटाउने निर्णयप्रति उपमेयरको आपत्ति



कोहलपुर।
कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुबेदीले नगर शिक्षा समितिबाट आफूलाई हटाउने मेयर पूर्णप्रसाद आचार्यको निर्णयप्रति आपत्ति जनाएकी छन् । बुधबार आयोजित कोहलपुर नगरपालिकाको नगर सभा तथा चौधौँ अधिवेशनमा मेयर आचार्यले १६ सदस्यीय शिक्षा समितिबाट उपमेयर सुबेदीसहित पाँच जनालाई हटाएका छन् ।

विधायन समितिको प्रस्ताव सभामा पेस गर्दै मेयर आचार्यले समितिलाई चुस्तदुरुस्त बनाउन सानो बनाउन लागिएको बताएका थिए । सो प्रस्तावप्रति उपमेयर सुबेदीले आपत्ति जनाएकी थिइन् । उनले आपत्ति जनाए पनि अन्य सदस्यले मौन समर्थन जनाएपछि सो प्रस्ताव बहुमतले पास भएको छ । सो प्रस्तावप्रति आपत्ति जनाउँदैै उपमेयर सुबेदीले आफूलाई हरेक निर्णयमा मेयर आचार्यले ‘बाइपास’ गर्ने गरेको आरोप लगाइन् ।

सभामा सोही विषयलाई लिएर मेयर आचार्य र उपमेयर सुबेदीबीच कटाक्षसमेत भएको थियो । उपमेयरले विरोध जनाएपछि मेयर आचार्यले त्यसको जबाफ दिँदै ‘रोइकराइ नगर्न’ र ‘कानुनी उपचार खोज्न’ उपमेयर सुबेदीलाई सुझाएका थिए । नगर सभामा पेस भएका अन्य प्रस्तावहरू भने सर्वसम्मतिले पास भएका छन् । नगर सभाका सभाध्यक्ष मेयर आचार्यले विभिन्न प्रस्ताव पेस गरेका थिए ।

उनले अखिल नेपाल फुटबल संघको जग्गा भोगाधिकार माग र सिटिइभिटीका लागि जग्गा सिफारिस गर्ने प्रस्ताव पेस गरेका थिए । सिटिइभिटीका लागि बैजनाथपुर सामुदायिक वनको जग्गा र फुटबल संघका लागि तेह्रबिघास्थित जग्गा भोगाधिकारका लागि सिफारिस गर्ने प्रस्ताव गरिएकोमा नगर सभामा सर्वसम्मतिले सो प्रस्ताव पारित भएको छ ।

नगर सभामा उपमेयर सुबेदीले अर्धवार्षिक प्रगति प्रतिवेदन पेस गरेकी थिइन् । सभाले कोहलपुर वाङ्मय प्रतिष्ठान ऐन तथा शिक्षा ऐन संशोधन गरेको छ । नगर सभामा १४ वटा विषय प्रस्ताव गरिएकामा विधायन समितिको एउटा प्रस्तावबाहेक सबै प्रस्ताव सर्वसम्मतिले पारित भएका छन् । सभामा अधुरा ठेक्का व्यवस्थापन, सवारी साधन खरिद, कोहलपुर भ्युटावर तथा बसपार्क व्यवस्थापन, बेरुजु फछ्र्यौटलगायतका विषयमा छलफल भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० पुस २६ गते बिहीबार