नेपालगन्ज।
जानकी गाउँपालिका बाँकेको आर्थिक वर्ष २०८०÷०८१ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
जानकी गाउँपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइमा सरोकारवाला र सहभागीहरूबीचमा झन्डै अढाई घन्टा भएको दोहोरो प्रश्नोत्तरपश्चात ६ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ ।
घोषणा गरिएका प्रतिबद्धताहरूमा गाँउपालिकाभित्र सञ्चालित सडक योजनाहरूमा नाला निर्माण नहुँदा डुबानको समस्या देखिएको र ठेकेदार कम्पनीलाई जानकारी गराउँदासमेत अटेरी गरिरहेको पाइएकाले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्ने रहेका छन्। त्यसैगरी, गाउँपालिकाभित्र जडान गरिएका सडकबत्तीको मर्मत तथा जडानका लागि विद्युत् प्राधिकरणसँग समन्वय गर्ने, लक्षित वर्ग उत्थान कार्यक्रम हालसम्म सञ्चालन नै नभएको पाइएकाले यथाशक्य सञ्चालन गर्ने, पालिकाभित्र रहेका विद्यालयहरूको स्तरोउन्नति गर्ने, शैक्षिक सुधारका लागि योजनासहित काम गर्नेलगायत रहेका छन्् ।
कृषकहरूले समयमा मलखाद नपाएको गुनासो आएकाले आगामी दिनमा गुनासो नआउने गरी समयसीमाभित्र मलखाद वितरणको व्यवस्थापन गर्ने तथा कृषकहरूका समस्या तथा गुनासो समाधान गर्ने र कालीकापुरमा बाटो निर्माणका लागि विनियोजन गरिएको ४५ लाख रकम रकमान्तर गरिएको पाइएकाले जरुरी उक्त योजना चालू आर्थिक वर्षभित्र नै गर्ने गरी आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता गरिएको छ ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा सुनुवाइको उद्देश्य माथि प्रकाश पारेको कार्यक्रममा नागरिक प्रतिवेदन पत्र र बर्हिगमन अभिमतको घोषणा बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए । सुनुवाइमा सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ गाँउपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादब, प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल, वडा अध्यक्ष, शाखा प्रमुखहरूले दिएका थिए । सुनुवाइमा ३ सय २० जनाभन्दा बढी स्थानीयहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्