बालसुधार गृहमा सेवा सुधार्ने सहमति



नेपालगन्ज।
बैजनाथा गाउँपालिकाको नौबस्तामा रहेको बालसुधार गृहको तनाव अन्त्य गर्ने क्रममा त्यहाँको सेवा सुविधा सुधार्ने सहमति भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बाल कैदीहरूले उठाएका जायज मागहरू जस्तै सफा पानी, उपचार प्रबन्ध, शिक्षा, सीप विकास, मनोरञ्जन जस्ता पक्षहरूमा सम्बोधन गर्ने वा अन्य निकायबाट उपलब्ध हुनुपर्ने विषयमा समन्वय एवम् सहजीकरण गरिने मौखिक सहमति भएको छ ।

बालसुधार गृहको व्यवस्थापन चुनौतीपूर्ण बनेको पोखरेलको भनाइ छ । १८ वर्षभन्दा कम उमेर भएकाहरूबाट हुने कानुनविपरीतका कार्यलाई अपराध नभनी बिझ्याइँ भन्ने गरिन्छ र त्यस्तो बिझ्याइँ गर्ने व्यक्तिलाई बाल बिझ्याइँकर्ता भनिन्छ । त्यस्ता बाल बिझ्याइँकर्तालाई थुनामा राखिने स्थानलाई बाल सूधार गृह भनिन्छ ।

तर बालसुधार गृहहरूमा १८ वर्ष उमेर कटिसकेकाहरूलाई पनि राख्ने प्रचलनले द्वन्द्वको स्थिति सिर्जना हुने गरेको पोखरेलले बताए । बाँके जिल्लामा रहेको एक बालसुधार गृहमा विगतमा आफ्नै साथीहरूबाट एक जनाको मृत्युसमेत भएको थियो भने अर्का १८ वर्षमाथिका बिझ्याइँकर्ताहरूलाई केन्द्रित गरेर सञ्चालनमा ल्याइएको नौबस्ता बालसुधार गृहमा बेलाबेलामा झडप हुने गरेको छ ।

तीन दिन अघिदेखि अशान्त देखिएको बाँके नौबस्तास्थित बालसुधार गृहमा संवाद र सुरक्षा कारबाही दुवै माध्यमको प्रयोग गरी शान्त बनाइएको थियो । सर्चका क्रममा चार थान मोबाइल फोन नियन्त्रणमा लिएर पुनः उनीहरूलाई सुधार गृहमा पुनःस्थापित गरिएको छ । १ सय १६ बालबिझ्याइँकर्तामध्ये १५ जना फरार भएको पाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० पुस १८ गते बुधबार