कोहलपुर।
कोहलपुर नगरपालिकाले लुम्बिनी प्रदेश सरकारका सहरी विकास मन्त्री कृष्णा केसी (नमुना)लाई स्वागत गरेको छ । नगरपालिका कार्यालयमा आयोजित एक समारोहका बीच नवनियुक्त मन्त्री नमुनालाई सोमबार स्वागत गरिएको हो । सो अवसरमा बोल्दै मन्त्री नमुनाले यस क्षेत्रमा गर्नुपर्ने विकास निर्र्माणका काम थुप्रै रहेको बताइन् ।
सर्वप्रथम कोहलपुर–नेपालगन्ज ढल निर्माण गर्नु आवश्यकता रहेको औँल्याउँदै त्यसका लागि आफूले पहल गर्ने जानकारी दिइन् । विकास निर्माणका काममा आफू नगरपालिकासँग समन्वय र सहकार्य गर्न सदैव तयार रहेको उनले प्रतिबद्धता जनाएकी थिइन् । कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले प्रदेश सरकारले गर्ने काम बारे पालिकालाई खासै जानकारी नहुने हुँदा प्रदेश कार्यालयहरुसँग सहकार्य गर्ने वातावरण मिलाइदिन मन्त्रीसँग आग्रह गरेका थिए ।
उपमेयर संगीता सुबेदीले मन्त्री नमुनाले यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले यस क्षेत्रको विकास निर्माणमा नगरबासीले धेरै अपेक्षा गरेकोे बताइन् । सो स्वागत कार्यक्रममा मेयर आचार्य, उपमेयर सुबेदी, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, विभिन्न वडाका वडाध्यक्ष, नगरपालिकाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्