कोहलपुर ।
गोरखा युनाइटेड पब्लिक स्कुलमा वार्षिक खेल सप्ताह सुरु भएको छ । प्रत्येक वर्ष सञ्चालन हुँदै आएको खेल सप्ताह सोमबारबाट सुरु भएको हो । विद्यालयका सञ्चालक अध्यक्ष केशरबहादुर आलेले फुटबल हस्तान्तरण गरेर खेल सप्ताहको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष आलेले विद्यार्थीहरूलाई शिक्षाको मात्र ज्ञान नभई आफूभित्रको प्रतिभालाई प्रस्फुटन गर्न खेलकुदको आवश्यकता रहेको बताए ।
खेलकुदले विद्यार्थीको क्षमता विकास गर्ने अवसर प्रदान गर्ने उनको भनाइ छ । खेलका माध्यमबाट विद्यार्थीको चौतर्फी विकास गर्न प्रत्येक वर्ष खेल सप्ताह सञ्चालन गरिने गरेको उनले जानकारी दिए । विद्यालयमा अध्ययनरत ४ सदनका छात्रछात्राहरूबीच अन्तर सदननात्मक फुटबल र एथेलेक्टिक्स विधाका खेलहरू सञ्चालन गरिने भएको छ । उक्त खेल सप्ताहमा प्रथम हुने सदनलाई २१ हजार, दोस्रो हुनेलाई ११ हजार पुरस्कार प्रदान गरिनेछ ।
सो अवसरमा सञ्चालक, शिक्षक र कर्मचारीबीच पनि खेल हुनेछ । सो खेलमा विजेता हुने समूहले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । सोमबारबाट सुरु भएको खेल २० गते सम्पन्न हुने विद्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्