कोहलपुर।
कोहलपुर नगरपालिका–३ मा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई प्राथमिकतामा राखेर जग्गाको नापजाँच कार्य सुरु गरिएको छ । सोमबार नगर प्रमुख पूर्णप्रसाद आचार्यले जग्गाको नापजाँच कार्य सुरु गरेका हुन् । नगरपालिकाभित्र रहेका वडाहरूमा भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गाको स्वामित्व दिन जग्गा नापजाँच कार्य तीव्र पारिएको नगर प्रमुख आचार्यले बताए । ८ वटा वडाको नापजाँच कार्य सकिएको उनले जानकारी दिए ।
उनका अनुसार ९, ११, र १४ वडामा रहेका भूमिहीन, दलित र सुकुम्बासीहरूको जग्गा नापजाँच कार्य पनि अघि बढाइएको छ ।
बाँकी रहेका वडामा पनि छिट्टै नापजाँच सुरु गरिने नगर प्रमुख आचार्यले जानकारी दिए । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले भोग चलन गर्दै आएकोे जग्गाको लालपूर्जा आफ्नै कार्यकालमा उपलब्ध गराउन आफू लागि पर्ने कोहलपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष माधव रिजालले बताए ।
शान्तिनगर र किरण नालाबाट जग्गाको नापजाँच सुरु गरिएको छ । ‘लालपुर्जा प्राप्त गर्न नाम दर्तालगायतका धेरै प्रक्रिया पूरा गर्नुपर्छ,’ उनले भने, ‘नापजाँच गर्नासाथ तुरुन्तै उपलब्ध गराउन सकिँदैन ।’ जग्गा नापजाँच गर्दा उपस्थित भई साथसहयोग गर्न पनि स्थानीयलाई उनले आग्रह गरे । सो कार्यक्रममा नगर प्रमुख आचार्य, ३ नम्बर वडाध्यक्ष रिजाल, ९ नम्बर वडाध्यक्ष ओपेन्द्रनाथ योगी, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्