चिसो बढेसँगै जनजीवन प्रभावित



कोहलपुर ।
केही दिनयता लगातार हुस्सु र कुहिरो लागेपछि पश्चिम तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । दुई दिनयता घाम नलागेपछि चिसोले जनजीवन कष्टकर बनेको हो । बिहानैदेखि बाक्लो हुस्सु लागेकाले बाँकेलगायत तराईका जिल्लामा चिसो ह्वात्तै बढेको छ ।

चिसो बढेसँगै ठाउँठाउँमा आगो ताप्ने क्रम बढेको छ । बजारमा मानिसहरूको चहलपहल घट्दै गएको छ । चिसोले सडकमा सवारीसाधन आवतआवतमा पनि कमी आएको छ । चिसो बढेपछि दैनिक ज्यालादारी र मजदुरी गर्नेहरू बढी प्रभावित भएका छन् ।

चिसोले विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब, असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएको फिजिसियन डा.संकेत रिसालले बताए । चिसोकै कारण अस्पतालमा दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका उनले बताए ।

प्रकाशित मिति : २०८० पुस १५ गते आइतबार