बाँके।
शुक्रबार बिहान ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा २ जना युवकको मृत्यु भएको घटनाको विरोधमा नेपालगन्जमा युवाहरूले विरोध प्रदर्शन गरेका छन् । अनेरास्ववियु बाँकेको आयोजनामा शनिबार नेपालगन्जमा विरोध सभा गरिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रकाश विकले बताए ।
रोजगारी माग्ने युवालाई गोली हानेर मार्ने सरकारको नियतको निन्दा गरिएको अध्यक्ष विकले बताए । विद्यार्थी तथा युवाहरू सहभागी विरोधसभामा बोल्दै अध्यक्ष विकले सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न नसकेका बेला विदेश जान्छु भन्ने युवालाई बल प्रयोग गरेर तर्साउने काम गरिरहेको बताए ।
त्यसैगरी, सोही घटनाको विरोधमा शनिबार कोहलपुर मा पनि युवाहरूले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । राष्ट्रका लागि युवा बाँकेका भरतप्रसाद पनेरुको नेतृत्वमा युवाहरूले न्युरोडमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘खै ! कस्तो भयो देश ? जहाँ बस्न खोज्दा पनि मार्छ, छोड्न खोज्दा पनि मार्छ भन्ने पोस्टरसहित प्रदर्शन गरेका थिए । उनीहरूले सरकारको राजीनामासमेत माग गरेका थिए ।
प्रहरीको गोली लागी मृत्यु भएका दुई युवकको मृत आत्माको चिर शान्तिको कामना गर्दै घटनाको विरोध गरिएको थियो ।सो अवसरमा बोल्दै पनेरुले विदेशिनु रहर नभई नेपालीको बाध्यता भएको बताए । एउटा घरपरिवार र आफ्नो गास बासका लागि विदेश जान खोज्दा गोली हानेर मारिनु खेदजनक भएको उनले बताए ।
त्यस्तै, नेपालमा बस्ने परिस्थिति निर्माण गरे युवालाई विदेशिन रहर नहुने युवा नेता रबिन्द्र श्रेष्ठले बताए । स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्ने र एउटा पेट पाल्न आफ्ना आवश्यकता पूरा गर्न विदेश जान चाहेको युवालाई गोली हानि मार्ने अधिकार कसैको नभएको भन्दै सरकारको विरोध गरे ।
कार्यक्रममा ‘विदेशिनु रहर होइन बाध्यता हो, स्वदेशमै रोजगार दे, आखिर हिंसा कहिले सम्म, धन ठूलो कि ज्यान ? बस्नलाई गास, बास र कपास चाहिएको गोली होइन’ लगायतका पम्प्लेट बोकेर युवाहरू सडकमा उत्रिएका थिए ।
प्रतिक्रिया दिनुहोस्