17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

गणतन्त्रविरोधी सल्बलाए ः शर्मा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस १५, २०८०  

नेपालगन्ज।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जनक्रान्तिबाट प्राप्त भएका उपलब्धिहरूलाई समाप्त गर्ने षडयन्त्र भइरहेको बताएका छन् । त्यही षडयन्त्र चिर्नका लागि अहिले माओवादीले सञ्चालन गरेको अभियान प्रभावकारी भएको उनले बताए । ‘त्यस्ता तत्वलाई पराजित गर्न यो अभियानले मद्दत पुग्नेछ,’ नेता शर्माले भने ।
यस्ता अभियानले सरकारलाई समेत खबरदारी गर्ने र सही बाटोमा हिँड्न बाध्य पार्ने उनको भनाइ छ ।

जनताले सधैँ सडकबाट सरकारलाई सचेत पार्ने काम गरिरहनुपर्नेमा उनले जोड दिए । शनिबार नेपालगन्जमा आयोजित पार्टी कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले नयाँ संविधान जारी हुनु आफैँ गौरवको विषय भए पनि देशमा गरिबी निवारण चुनौतीका रूपमा रहेको बताए । संविधानमा उल्लिखित अधिकारलाई प्रयोग गर्न अपरिहार्य भएको उल्लेख गरे ।

पूर्वमन्त्रीसमेत रहेका नेता शर्माले संविधानको कार्यान्वयन गर्दै समाजिक पछौटेपन र गरिबीलगायतका विभेद अन्त्य गर्ने दायित्व नीति निर्माण गर्ने नेतासमक्ष आइपुगेको धारणा राखे । माओवादीको रुपान्तरण अभियानले देशभरि नै पार्टी र कार्यकर्तामा नयाँ रक्तसञ्चार गर्न सफल भएको शर्माको भनाइ छ ।

माओवादी रुपान्तरण अभियानअन्तर्गत शनिबार नेपालगन्जमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै पार्टीका उपमहासचिव शर्माले कार्यकर्ता र जनताबीचको सम्बन्ध कमजोर बन्दै गएको महसुस गरेर देशका ६ हजार ७ सय ४३ वटै वडामा सञ्चालन गरिएको रुपान्तरण अभियानले सो सम्बन्धलाई बलियो बनाउने काम गरेको बताए । नेता शर्माले भने, ‘सबै वडामा पुगेर जनता र कार्यकर्ताको सुझाव संकलन गरेका छौं, सोही सुझावका आधारमा पार्टी र सरकारलाई सशक्त पार्दै जानेछौँ ।’

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी, थारू मुक्ति मोर्चा, मधेसी मुक्ति मोर्चा र मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय नेतालगायत पार्टीका विभिन्न तहमा रहेका स्थानीय नेताहरूले पनि माओवादी पार्टीलाई बलियो र सुदृढ बनाउन सकेमात्र संघीयता र गणतन्त्रलाई बलियो बनाउन सकिने धारण राखेका दिए ।

 

प्रकाशित मितिः आइतवार, पुस १५, २०८०     6:30:49 AM  |