21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

कोहलपुर मेयर कपः उपाधि बालविद्याले उचाल्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस १४, २०८०  

कोहलपुर।
अन्तर मावि मेयर कप तथा १६औं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनोट प्रतियोगिताको  उपाधि बालविद्या माध्यमिक विद्यालयले  उचालेको छ । बालविद्या माध्यमिक विद्यालयले ८ स्वर्ण, ३ रजत र ३ कास्य प्राप्त गरी अन्तर मावि मेयर कप तथा १६औं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनोट प्रतियोगिताको उपाधि उचालेको हो । १ सय, २ सय र ४ सय मिटर दौडमा बालविद्याका प्रतीक सुनारले गोल्ड मेडल प्राप्त गरेका छन् । त्यस्तै, हाइजम्प र त्रिपलजम्पमा निष्मा थारूले गोल्ड मेडल प्राप्त गरेको विद्यालयले जनाएको छ ।

तेक्वान्दोमा छात्र एलेक्स, उसुमा छात्र टार्जन रोका मगर, अनिल कुँवरले गोल्ड मेडल प्राप्त गरेका हुन् । यस्तै, त्रिभुवन माध्यमिक विद्यालयले ८ स्वर्ण, १ रजत र ३ कास्य प्राप्त गरी द्वितीय भएको छ भने गोरखा युनाइटेडले तेस्रो स्थान हासिल गरेको छ । यस्तै, एथ्लेटिक्सतर्फ छात्र प्रतीक सुनार र छात्रा तुलसा दमाई, भलिबलतर्फ छात्र सन्दीप रावत र छात्रा ग्रेष्णा चिलवाल र कबड्डी छात्र गणेश आले मगर र छात्रा सरिता बुढा उत्कृष्ट खेलाडीका रूपमा मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

मेडलधारी खेलाडीहरू अब जिल्लामा हुने पालिकास्तरीय प्रतियोगिताको सहभागी हुनेछन् । प्रतियोगितामा ३६ माध्यमिक विद्यालयका १ हजार ३ सय ६७ जना खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रकाशित मितिः शनिबार, पुस १४, २०८०     7:54:05 AM  |