मुटुको सुरक्षाका लागि सावधानी उत्तम विकल्प



नेपालगन्ज।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विकास नेपालले मुटु रोगबाट जोगिन सावधानी नै उत्तम विकल्प भएको बताएका छन् । हृदयघातबाट निधन भएका पत्रकार ऋषिराज गैरेको ४५औं दिनको पुण्यथितिमा आयोजित कार्यक्रममा मुटु सुरक्षा कसरी ? विषयक स्वस्थ्य प्रशिक्षण कार्यक्रममा डा. नेपालले मुटु रोग लाग्न नदिन अपनाउनुपर्ने जीवनशैली, लागिसकेपछि मुटुको हेरचाह र वर्तमान समयमा जीवनशैलीले मुटुमा पारेको असरबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा डा. नेपालले शरीरका प्रत्येक अंगको डिमान्ड र सप्लाई हुने गरेको र त्यो असन्तुलित हुँदा अंगहरूले कुनै न कुनै लक्षण देखाउने गरेको बताए । उनले मुटुमा समस्या सुरु भएमा छाती दुख्ने, उक्त दुखाइ सरेर घाँडी तथा शरीरको पछाडिको भाग दुख्ने, चिटचिट पसिना आउने, सास फेर्दा असहज हुने, मुटुको धड्कन छिटो चल्ने, दौडिँदा सास फेर्न गाह्रो हुने लक्षण देखिने जानकारी दिए ।

मुटुरोग लाग्नेबित्तिकै हार्ट अट्याक नहुने भन्दै डा. नेपालले मुटुरोगसम्बन्धी लक्षण देखिएमा चिकित्सकलाई अनिवार्य देखाउनुपर्ने बताए । ‘लक्षण देखिनेबित्तिकै उपचार सुरु गर्ने हो भने बिरामी बचाउन सकिन्छ,’ डा. नेपालले भने । उच्च रक्तचाप, सुगर, शारीरिक निष्क्रियता, धुम्रपान, तनाव, अस्वस्थकर खानपान मुटुरोगको कारण रहेको बताए ।

डा. नेपालले पहिले ५० वर्षमाथि उमेर समूहका लागि मात्रै हार्टअट्याक हुन्छ भन्ने मान्यता रहे पनि अहिले युवाहरूमा समेत मुटुको समस्या देखिने गरेको बताए । ‘हार्टअट्याक हुने युवामा प्रमुख कारण तनाव र धुम्रपान रहेको पाइन्छ,’ उनले भने । दैनिक नेपालगन्जका प्रधानसम्पादक झलक गैरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन, सहजीकरण स्वास्थ्यकर्मी जीवन शर्माले गरेका थिए । कार्यक्रममा सहभागीहरूको प्रेसर तथा तौल परीक्षण गरिएको थियो ।

 

प्रकाशित मिति : २०८० पुस ११ गते बुधबार