बाँके ।
कोहलपुर नगरपालिका–११ मा रहेको फुलबारी नगर टोल विकास संस्थालाई फोहोर व्यवस्थापनका लागि छिमेक लघुवित्त वित्तीय संस्थाले डस्टबिन प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेक लघुवित्तले बिहीबार फोहोर व्यवस्थापनका लागि टोल विकास संस्थालाई डस्टबिन प्रदान गरेको हो । छिमेक लघुवित्तका लुम्बिनी प्रदेश प्रबन्धक रामनाथ महतोले टोल विकास संस्थाका अध्यक्ष दिलबहादुर रानालाई डस्टबिन हस्तान्तरण गरेका थिए ।
सो अवसरमा बोल्दै प्रदेश प्रबन्धक महतोले टोल विकास संस्थाकै अनुरोधमा फोहोर व्यवस्थापनका लागि डस्टबिन उपलब्ध गराइएको बताए । आगामी दिनहरूमा समेत स्थानीयहरूसँग सहकार्य र समन्वय गरेर संस्था अगाडि बढ्ने उनले प्रतिबद्धतासमेत जनाए ।
‘छिमेक लघुवित्तले बैंकिङ क्षेत्रमा मात्रै काम गर्दैन । सामाजिक कामसमेत गर्छ,’ प्रदेश प्रबन्धक महतोले भने, ‘संस्थाले यसअघि समेत विभिन्न सामाजिक कामहरू गरिसकेको छ, आगामी दिनहरूमा समेत गर्छ ।’
फुलबारी नगर टोल विकास संस्थाका अध्यक्ष रानाले टोलमा फोहोर व्यवस्थापनका लागि डस्टबिनहरू उपलब्ध गराइदिएकोमा छिमेक लघुवित्तलाई धन्यवाद दिए ।
‘टोल विकास संस्थाले निर्णय गरेर माग गरेको छोटो समयमै डस्टबिनहरू उपलब्ध गराइदिनुभएकोमा छिमेक लघुवित्तलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु,’ डस्टबिन बुझ्दै उनले भने, ‘तपाईंहरूले दिनुभएको डस्टबिनहरूको हामी सही सदुपयोग गर्नेछौं ।’
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कोहलपुर ‘ख’का शाखा प्रबन्धक तपेन्द्रबहादुर साउदले ७ वटा डस्टबिन टोल विकास संस्थालाई उपलब्ध गराइएको जानकारी दिए । संस्थालाई ३४ हजार ६ सय ५० रुपैयाँबराबरका ७ वटा फोहोर राख्ने डस्टबिन दिइएको उनले बताए ।
‘फोहोर व्यवस्थापन गर्न सहज होस् भन्ने हेतुले फुलबारी नगर टोल विकास संस्थालाई ७ वटा डस्टबिन तयार गरेर उपलब्ध गराएको हौं,’ शाखा प्रबन्धक साउदले भने, ‘फोहोर व्यवस्थापनका साथै वातावरणीय परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्नमा यसले ठूलो मद्दत पुग्नेछ भन्ने विश्वास संस्थाले लिएको छ ।’
फुलबारी नगर टोल विकास संस्थाका कोषाध्यक्ष महादेव थापाले डस्टबिनहरूलाई आवश्यकताको आधारमा टोलका चोकहरूमा राखिने जानकारी दिए । उनका अनुसार ती डस्टबिनमा घरभित्रबाट ल्याएर फोहोर भने फाल्न पाइनेछैन ।
फोहोर व्यवस्थापनका लागि डस्टबिन हस्तान्तरण कार्यक्रममा छिमेकी लघुवित्तका कर्मचारी, टोल समितिका पदाधिकारी तथा सदस्यहरू तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्