मधुर पौडेल । बाँसगढी ।
‘सहकारीको दिगोपन स्वनियमन र सुशासन’ भन्ने नाराका साथ बाँसगढी नगरपालिकामा अवस्थित बाँसगढी पिपलबोट बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै बाँसगढी नगरपालिका प्रमुख खड्कबहादुर खड्काले संस्थाको प्रगतिको कामना गरे । उनले सहकारीको माध्यमबाट स्वरोजगारी सिर्जना गरी बाँसगढीको समृद्धिसँग जोडेर संस्थालाई अगाडि बढाउन पनि आग्रह गरे ।
मेयर खड्काले बैंक र सहकारीहरूको ब्याजदर महँगो भयो भनेर गुनासो बढिरहेका बेला कृषि, उद्यम, व्यवसायमा लागेकाहरूका लागि थोरै भए पनि प्रोत्साहन होस् भनेर बाँसगढी नगरपालिकाले सहकारीसँग जोडिएर सहकारीलाई शून्य प्रतिशत र सहकारीका उद्यमशील सेयरधनीहरूलाई १ प्रतिशत ब्याजदरमा १ करोड रुपैयाँ लगानी गर्ने व्यवस्था मिलाएको जानकारी दिए ।
संस्थाका अध्यक्ष रामचन्द्र अधिकारीले संस्थाको वित्तीय र भौतिक विकास मात्र नभई संस्थाको प्रतिष्ठा र प्रभावसमेत बिस्तार भइरहेको बताए ।
त्यस्तै, संस्थाका व्यवस्थापक पूर्णबहादुर वलीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आफ्नै भवन स्थापना गरी कार्यालय सञ्चालन गरिरहेको र यो वर्षदेखि अनलाइन सिस्टममार्फत कारोबार गरिरहेको जानकारी दिए । विगत वर्षमा युवा स्वरोजगार कोषबाट ऋण लगानी गरी ऋण रकम चुक्ता गरेका ऋणी सदस्यहरूलाई ब्याज छुट रकम फिर्ता गरिएको वलीले बताए ।
खर्च कटौती गरी बचत गर्ने बानीको विकासले सहकारी संस्थाले आर्थिक उन्नति गर्दै गएको उपाध्यक्ष बद्री बराले बताए । उनले संस्थामा २ करोड ६९ लाख ६५ हजार सेयर पुँजी रहेको र कुल कारोबार ११ करोड ८० लाख ७३ हजार १ सय ४५ रुपैयाँ रहेको जानकारी दिए ।
यस्तै, आफ्नो मन्तव्य राख्दै लेखा समिति संयोजक सन्तोषकुमार रेग्मीले भाखा नाघेको कर्जा असुलीमा तदारुकताका साथ लाग्नुपर्ने बताए । उनले संस्थाको विनियम तथा नियमावली समयसापेक्ष ढंगले निर्माण तथा परिमार्जन गरिनुपर्ने र संस्थाको पुँजी वृद्धिका लागि आवश्यक पहल गर्नुपर्ने धारणा राखे ।
सो अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो । असल ऋणीका रूपमा बाँसगढी–४ का भरतबहादुर शाही, वडा नम्बर ३ की सावित्रा थारू र वडा नम्बर ५ का कैलाश थारूलाई सम्मान गरिएको थियो ।
त्यस्तै, नियमित बचतकर्ताका रूपमा बाँसगढी–५ का शेरबहादुर सुनार र उत्कृष्ट सेयरधनीका रूपमा भोजराज शर्मा, नरबहादुर वली, किशोर शर्मा, धनीराम चौधरी, भूपिन्द्रकुमार वली र भीमबहादुर वली सम्मानित भए । उत्कृष्ट कर्मचारीको रूपमा सरस्वती आचार्यले सम्मान पाइन् ।
सहकारीका अध्यक्ष अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायण पौडेलले अतिथिहरूलाई स्वागत गरेका थिए । जनभावना बचत तथा सहकारी संस्थाका अध्यक्ष शेरबहादुर सुनार, बाँसगढी वडा नं ५ का वडाध्यक्ष दहवा थारू, संस्थाका संस्थापक अध्यक्ष पुष्पराज बराल, नरबहादुर वलीलगायतले आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
२०६५ मा ४१ जनाबाट सुरु भएको सहकारी संस्थामा हाल १ हजार २ सय ६५ जना सेयर सदस्य रहेका छन् । यो वर्ष ५४ लाख ९४ हजार ६ सय ९३ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको सहकारीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्