बजार अनुगमन तीव पार्दै बाँके प्रशासन



नेपालगन्ज ।

जनस्वास्थ्यमा गम्भीर खेलवाड हुने गरी बजारमा मिठाई र पानी बिक्री भइरहेको पाइएको छ । मंसिर २१ गते बजार अनुगमन टोलीले नेपालगन्ज–११ मा रहेको रारा पानी उद्योगका पुराना २२ जार नष्ट गर्दै अनुज्ञा पत्र नलिँदासम्म पानी उत्पादनमा रोक लगायो । सोही दिन वाईके पानी उद्योग सुरक्षित तवरले पानी उत्पादन सुनिश्चित नहुँदासम्मका लागि उद्योग सिल गरियो ।

मंगलबार नेपालगन्जमा अनुगमन गर्दा राम र श्याम गरी दुईवटा मिष्ठान भण्डार असाध्यै फोहोर भेटिएपछि सरसफाई नहुँदासम्मका लागि मिठाई कारखानाको उत्पादन रोक्का लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइ भइरहेको बजार अनुगमनका क्रममा यसरी कैफियत भएका उद्योग, प्रतिष्ठानलाई जरिवाना मात्रै भएको छैन उद्योग नै बन्द गर्नुपर्नेसम्मको अवस्था आएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

‘जनस्वास्थ्यमा खेलवाड गर्ने छुट कसैले नपाएको बताउँदै पोखरेलले भने, ‘त्यस्तो गर्नेलाई कानुनबमोजिम दण्ड जरिवाना दिइन्छ, उन्मुक्ति पाउँदैन ।’ जनस्वास्थ्यको सुनिश्चिता र कानुनबमोजिम प्रक्रिया पूरा गरे फेरि उद्योग, प्रतिष्ठान सञ्चालन गर्न कसैले नरोक्ने उनले बताए । उपभोक्ता हित संरक्षण मञ्चका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभातसिंह ठकुरी उत्पादनै बन्द गर्नेुपर्ने परिस्थितिका लागि व्यवसायी स्वयम् जिम्मेवार रहेको बताउँछन् । उनी भन्छन्, ‘देख्नेबित्तिकै फोहोर देखिने खानेकुरा बेच्नेलाई यो हदसम्मको कारबाही जायज छ ।’

बजार अनुगमनको नेतृत्व गरिरहेका बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङका अनुसार राम र श्याम फरक मिष्ठान भण्डारलाई सरसफाइ सुनिश्चित नहुँदासम्मका लागि उत्पादन रोक्का गरिएको छ ।

‘असाध्य फोहोर भेटेपछि उत्पादनमा निरन्तरता दिएर जनस्वास्थ्यमा गम्भीर असर पार्न नदिने कुरै हुँदैन थियो,’ सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले भने । यी मिष्ठान भण्डारबाट बिल/बिजक जारी नगरेको समेत पाइएको छ भने बिक्री–वितरण राखेको मिठाईको नमुना परीक्षणका लागि संकलन भएको छ । मिठाइ पसलमा विगतमा पनि गुणस्तरमा असाध्यै कमजोरी गरेको पाइएको थियो भने सर्वसाधारण समेत मिठाई किन्न हिच्चकिचाउने गरेका छन् ।

मधुवन स्वीट, लिटिल हन्गर एण्ड स्वीट बेकरीमा उत्पादन भएका मिठाईको नमुना पनि संकलन गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार बाँकेका विभिन्न सार्वजनिक तथा निजी संस्थामा पिउनका लागि प्रयोग हुने पानीको शुद्धता परीक्षण गर्न सुरु गरिएको छ । परीक्षणको नतिजा केही दिनमै आएपछि ती ठाउँमा प्रयोग हुने पानीको गुणस्तरका बारेमा यथार्थ थाहा हुने पोखरेलले बताए ।

आक्रामक बजार अनुगमनप्रति उद्योगी, व्यवसायीमा भने असन्तुष्टिका स्वरहरू सुनिएका छन् । आर्थिक शिथिलताका विरुद्धमा सरकारलाई बुझाएको १४ बुँदे ज्ञापनपत्रको अन्तिम बुँदामा त्यो कुरा झल्किन्छ ।

संघले बुझाएको ज्ञापनपत्रको अन्तिम बुँदामा भनिएको छ– ‘उद्योगी, व्यवसायीहरूलाई अनावश्यक रूपमा दुःख दिने अभिप्रायले गरिने अनुगमन तथा वस्तु बिक्रीवितरण प्रतिबन्ध जस्ता कार्यमा रोक लगाउन सरकारका सरोकारवाला निकायहरूलाई निर्देशन दिई सहज व्यावसायिक वातावरण सिर्जना गराउन माग गर्दछौँ ।’

प्रकाशित मिति : २०८० मंसिर ३० गते शनिबार