भेरी शीत भण्डारको १५औँ साधारण सभा सम्पन्न



कोहलपुर ।

भेरी शीत भण्डार सहकारी संस्था लिमिटेड कोहलपुरको १५औँ साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालको प्रमुख आतिथ्य र बलराम भटट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । भेरी शीत भण्डार सहकारी संस्थाको उद्घाटन गर्दै सांसद ढकालले किसानहरूलाई उत्पादनमा जोड दिन आग्रह गरे ।

भेरी शीत भण्डार लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका किसानहरूको उत्पादन भण्डारण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको उनले बताए । ‘अहिले किसानहरूले उत्पादनमा जोड दिन आवश्यक छ,’ उनले भने, ‘शीत भण्डारले आगामी दिनमा किसानलाई ५० प्रतिशत अनुदान दिएर उत्पादन गरे किसान र शीत भण्डार दुवैलाई फाइदा हुन्छ ।’

कृषि उत्पादनमा बढाउन किसानलाई प्रोत्साहन गरेर अघि बढ्नुपर्ने सांसद ढकालले बताए । विगतदेखि नै आफू भेरी शीत भण्डारसँग सहकार्य गरेर अघि बढेको र किसानका समस्याका लागि सासंदमा समेत आवाज उठाउने प्रतिबद्धता जनाए ।

बाँकेका विभिन्न क्षेत्रमा अहिले शीत गृह स्थापना भरहेकाले सञ्चालन गर्न थप चुनौती थपिएको भेरी शीत भण्डार सहकारी संघ लिमिटेडका अध्यक्ष बलराम भटट्टराईले बताए ।

उनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा व्यावसायिक भवन सटर बिस्तार गर्ने, कृषि भण्डार कर्जा सञ्चालन गर्ने, स्याउ भण्डारलाई विशेष प्राथमिकता दिने र व्यावसायिक आलु खेती गर्ने कृषकहरूलाई उन्नत जातको बीउ तथा प्राविधिक सेवा दिन प्रदेश र संघ सरकारसँग सहकार्य गर्ने योजनासमेत रहेको बताए ।

३ हजार ७ सय १४ सेयर सदस्य रहेको र कुल सेयर पुँजी ९७ लाख ४९ हजार ५ सय रहेको उनले बताए । हालसम्म यस संस्थामा बाँके, बर्दिया, कैलाली, सुर्खेत, दाङ, प्युठान जुम्ला, हुम्ला, जाजरकोट, रुकुम, रोल्पा, सल्यान, कालिकोट र डोल्पाका किसानहरू लाभान्वित रहेको उनले जानकारी दिए ।

३५ हजार ४ सय १२ बोरा भण्डारण गरिएको उनले बताए । यस आर्थिक वर्षमा संस्थाले उत्पादन गरेको बरफलाई संस्थाको गाडी प्रयोगमा ल्याई नेपालगन्ज बजारमा २ हजार ३ सय ७३ सिल्ली बिक्री गरी आम्दानी गरेको जानकारी दिए ।

संस्थाले आर्थिक वर्ष २०७९÷०८० मा २ करोड ११ लाख ७० हजार ४६ रुपैयाँ कूल कारोबार गरेको संस्थाका लेखा संयोजक अमरबहादुर खड्काले बताए । लेखा परीक्षणको प्रतिवेदन प्रस्तुत गर्दै उनले आमागी दिनमा संस्थाले अझ स्तरीय कारोबार गर्ने बताए ।

कार्यक्रममा सबैभन्दा धेरै भण्डारण गर्ने किसान र सेयर सदस्यलाई सम्मानपत्र र खादा लगाएर सम्मानसमेत गरिएको थियो । साधारण सभामा सांसद ढकाल, प्रदेश सांसद रत्न खत्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्था प्रतिनिधि सेयर सदस्य र पत्रकारको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० मंसिर ३० गते शनिबार