नेपालगन्ज ।
स्थानीय स्तरमा महिलाहरूले उत्पादन गरेका वस्तुहरूको प्रवद्र्धन गर्दै आएको महिला उद्यमी संघ नेपाल बाँकेले यस वर्ष नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी मेला आयोजना गर्ने भएको छ ।
महिला उद्यमी संघ नेपाल बाँकेले आगामी पुस २४ देखि २८ गते सम्म नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी मेला आयोजना गर्ने निर्णय गरेको हो । महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्री बस्नेतको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी मेला आयोजनाका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरेर काम गर्ने निर्णय गरेको छ ।
महिलाहरूले गाउँघरमा उत्पादन गरेका खाद्य वस्तु, लत्ता कपडा, सामग्री, उत्पादनको बजारीकरणमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी मेलाले महत्वपूर्ण सहयोग गर्दै आएको छ ।
महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष बस्नेतले यस वर्ष थप व्यवस्थित र ग्रामीण भेगका महिलालाई प्राथमिकतामा राखेर प्रदर्शनी आयोजना गर्ने तयारी गरेको बताइन् । उनले भनिन, ‘प्रर्दशनी मेला आयोजना गर्ने हामीले निर्णय गरेका छौँ । तयारीमा हामी जुटिसकेका छौँ । यसपटक थप नयाँ स्थानबाट उत्पादन, उद्योग र व्यवसायमा काम गरिरहेका महिलाहरूलाई बजारीकरणका बारेमा सिकाउँदै सहयोग गर्ने हाम्रो योजना
छ ।’
यसैगरी संघको बैठकले प्रदर्शनी मेला आयोजनाको लागि महिला उद्यमी संघ नेपाल बाँकेकी प्रथम उपाध्यक्ष रेवती सिंहको संयोजकत्वमा तयारी अगाडि बढाउने निर्णय गरेको छ ।
प्रदर्शनी मेला संयोजक रेवती सिंहले नव उद्यमी महिलालाई प्रोत्साहन गर्दै व्यापार, व्यवसायमा भएका महिलालाई सहयोग गर्ने उद्देश्यले हरेक वर्ष मेला आयोजना गर्ने गरिएको बताइन । उनले भनिन्, ‘प्रदर्शनी मेलाको तयारी सुरु गर्न पाउँदा हामी खुसी छौँ । यस वर्ष प्रदर्शनलाई अझ आकर्षक र सफल बनाउन हामी विभिन्न योजना बनाएर काम गरिरहेका छौं ।’
यसैगरी आयोजक महिला उद्यमी संघ नेपाल बाँकेको टिमले प्रदर्शनी मेला आयोजनाको बारेमा नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टसँग भेटघाट गरेको छ । भेटघाटको क्रममा उप–महानगरपालिकाको समन्वयमा मेलालाई थप प्रभावकारी बनाउने बारेमा छलफल भएको संयोजक सिंहले बताइन् ।
महिला उद्यमी संघ नेपाल बाँकेले नेपालगन्ज धम्बोझी चोक नजिकै सिटिजन्स बैंक अगाडि तरकारी बिक्री गर्दै आएका महिलाहरूलाई कोसेली घरको प्राङ्गण निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । त्यसको समन्वय र व्यवस्थापनका लागि नेपालगन्ज उप–महानगरपालिकासँग सहकार्य गर्ने महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष बस्नेतले बताइन् ।
प्रतिक्रिया दिनुहोस्