नेपालगन्ज ।
नेदरल्यान्ड्स विकास कोषको ४६ लाख ३६ हजार रुपैयाँमा चार वर्षअघि नेपालगन्जको धम्बोझीचोकमा बनेको डिजिटल शौचालय एकपटक पनि प्रयोगमा नल्याई भत्काइएको छ । डिजिटल शौचालय भत्काएर अब सामान्य शौचालय बनाउन लागिएको नेपालगन्ज उपमहानगरपालिका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।
‘यो प्रविधिको शौचालय प्रयोगमा जटिलता उत्पन्न भयो । डिजिटल प्रविधिमा आउने समस्याले हैरान भएपछि अब सामान्य खाले शौचालयमा यसलाई परिवर्तन गर्ने निष्कर्षमा उपमहानगरपालिका पुगेको छ,’ प्रवक्ता रिजालले भने ।
उक्त शौचालयमा डिजिटल प्रविधि जडान गरिए पनि लामो समय सञ्चालन नहुँदा सामानमा खिया लागेको थियो । यसरी जीर्ण अवस्थाको शौचालय खण्डहरजस्तो लामो समय रहेपछि सर्वसाधारणले आक्रोश व्यक्त गरेका थिए ।
२०७६ माघ ६ गते स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रमअन्तर्गत ४६ लाख ३६ हजार रुपैयाँ लागतमा स्वचालित शौचालय निर्माण गरिएको थियो ।
भत्काइएको डिजिटल शौचालय आफ्नो फरक विशेषताका कारण चर्चामा थियो । जमिनमाथि निर्माण गरिएको संरचना फोल्डिङयुक्त थियो भने शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लान सकिन्थ्यो । सौर्य प्रणालीबाट विद्युत् प्रवाह गरिएको र अपाङ्गता तथा महिलामैत्री सो डिजिटल शौचालयमा एकैपटक तीन महिला, तीन पुरुष र एक फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिले शौच गर्न सक्ने गरी बनाइएको थियो ।
पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र पानी तथा साबुन भएन भने शौचालयको ढोका नखुल्ने बनाइएको थियो । शौचालय प्रयोगमा आए/नआएको जानकारी ढोकामा रहेको डिजिटल डिस्प्लेमा सहजै देख्न सकिन्थ्यो ।
शौच गर्दा स्वचालित रूपमा संगीत बज्ने र जो–कोहीले संगीत सुन्दै शौच गर्न भनिएको थियो । शौच गरिसकेपछि शौचालयभित्रै हात धुन पानी र साबुन थियो, जुन स्वचालित थियो । शौच गर्न गएको व्यक्तिले साबुन संकेत रहेको तल हात लिएमा तरल अवस्थाको साबुन हातमा झथ्र्यो, सँगै रहेको पानी संकेत देखाएको तल हात लग्दा पानी झर्ने विशेषताको थियो ।
नेपालगन्जको केन्द्र धम्बोझीचोक नजिक कृषि विकास बैंक र राष्ट्र बैंकको बीचमा सो डिजिटल शौचालय निर्माण गरिएको थियो । जहाँ सङ्गीतको आनन्द लिँदै आरामसाथ शौच गर्न पाइने भन्दै निकै चर्चा चलेको थियो । तर अब भने सो चर्चामै सीमित भएको छ ।
एकैपटक सात जनाले प्रयोग गर्न मिल्ने आधुनिक प्रविधिसहितको शौचालय प्रयोगका लागि सीमित अवधिसम्म निःशुल्क गरिएको थियो । तत्कालीन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले स्वचालित शौचालय सञ्चालनमा आउनुमात्रै उपलब्धि नभएकाले यसको सही सुदपयोग हुनुपर्नेमा उतिबेला नै जोड दिएका थिए । जुन सदुपयोग नभई यतिबेला भत्काइएको छ ।
मंगलबार कामदारहरूले शौचालयका सामान निकालेका थिए । त्यहाँ प्रयोगमा आएका अधिकांश सामान थन्क्याइसकिएको छ ।









प्रतिक्रिया दिनुहोस्