बाँके ।
बर्दियाको बारबर्दिया नगरपालिका– ९ कतर्नियाघाटबाट प्रहरीले स्रोत नखुलेका सुनका तयारी गरगहनासहित २ जनालाई पक्राउ गरेको छ । ठूलो परिमाणमा रहेको सुनका तयारी गरगहनासहित शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रदेश ३–०१–०२३ ८१६८ नम्बरको हुण्डाई गाडीमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीबाट प्रहरी निरीक्षक शैलेश्वरी बोहराको कमाण्डमा गएको टोलीले सुनका गरगहनासहित नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका– १९ राँझा बस्ने २९ वर्षीय मोहन विक र गाडी धनी राप्ती सोनारी गाउँपालिका– २ घर भई हाल डुडुवा गाउँपालिका– ५ जब्दहवा बस्ने ३८ वर्षीय देविन्द्रबहादुर घर्ती रहेका छन् ।
विशेष सूचनाको आधारमा उनीहरू सवार गाडी रोकेर चेकजाँच गर्दा स्रोत नखुलेको सुनका तयारी गरगहनाहरू फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।
उनका अनुसार सुनका तयारी गरगहनाहरूको बिल देखाएर स्रोत खुलाउनको लागि आग्रह गरेपनि स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको थियो । बरामद गरिएका तयारी गरगहनाहरूलाई तौल गर्दा ३४७.०७१० ग्राम रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीले जानकारी दिए ।
उनीहरूको साथबाट प्रहरीले केही नेपाली र भारतीय रुपैयाँ समेत बरामद गरेको छ । एसपी शाहीका अनुसार स्रोत नखुलेका सुनका तयारी गरगहनाहरू करिब २९ तोला बराबरका रहेका छन् ।
बरामद भएका तयारी गरगहनाहरूमा औठी, सिक्री, ब्रासलेट, रिङ लगायत रहेको उनले जानकारी दिए । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्