बाँकेमा तीनवर्षमा घरेलु हिंसाका २७ सय ५० उजुरी



नेपालगन्ज ।

बाँकेमा पछिल्लो तीनवर्षमा घरेलु हिंसाका दुई हजार ७ सय ५० वटा उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, अधिंकाश घटनामा महिला पीडित रहेका छन् ।

तर अहिले पुरुषले समेत आफूमाथि हिंसा भएको भन्दै उजुरी दिन थालेका छन् । तर पुरुषको तुलनामा महिलामाथि हुने हिंसाको प्रकृति गम्भीर प्रकारको मात्रै छैन् संख्या पनि अत्यधिक रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा ७ सय ३८, २०७८/७९ मा ८ सय ८९, २०७९/८० मा ८ सय ८५ र चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्म घरेलु हिंसामा परेको भन्दै तीन सय ३२ वटा उजुरी परेका छन् । जो महिलाहरूले दिएको निवेदन हो । यसै अवधिमा ४० जना पुरुषले समेत आफू अन्यायमा परेको भन्दै उजुरी दिएका छन् ।

‘अधिकांश हिंसामा परेको उजुरीहरू महिलाको तर्फबाट आउने गरेका छन्’ महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी बिष्ट भन्छिन्, ‘कतिपय अवस्थामा पुरुषको तर्फबाट पनि उजुरी आइरहेका छन् ।’ तर महिलामाथि हिंसा गर्ने सामाजिक चरित्र नै भएका कारण पुरुषले दिने उजुरीको तुलनामा महिलाको संख्या अत्यधिक रहेको छ ।

हिंसामा परेको भन्दै उजुरी दिने महिलाहरू (उजुरी फिर्ता) होस्टायल हुने समस्या पनि उत्तिकै हुने गरेको अनुसन्धानमा खटिएका प्रहरीहरू बताउँछन् ।

बाँके प्रहरीका अनुसार, निवेदन दिइसकेपछि कतिपय निवेदनकर्ताहरू सम्पर्कमा आउँदैनन् । प्रतिशोध साँध्नका लागि उजुरी दिने र त्यसपछि वास्तै नगर्ने प्रबृत्ति समेत बढ्दै गएको छ । तर सबैमा त्यस्तो नहुने भएकाले हिंसासँग जोडिएका घटनालाई सुक्ष्मरूपले गम्भीरतापूर्वक अनुसन्धान गर्ने गरिएको बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण डाँगीले बताए ।

‘हिंसाका घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गर्दै आएका छौं । यो सवालमा प्रहरी सचेत र सजग छ’ उनले मिसन टुडेसँग भने ।
फोटो क्यासनः नेपालगन्जमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा निकालिएको ¥याली ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर २५ गते सोमबार