नेपालगन्ज ।
नेपाल भारत सीमाअन्तर्गत बाँकेमा रहेका सीमा स्तम्भहरूको मर्मत सम्भारको काम सुरु गरिएको छ । बुधबारदेखि नेपालगन्ज उपमहानगरपालिका–१६ स्थित ६५१÷११ नम्बरको सीमा स्तम्भबाट मर्मत सम्भारको काम सुरु गरिएको हो ।
नेपाल पक्षले बिजोर र भारतीय पक्षले जोर सीमा स्तम्भको मर्मत सम्भार गर्नुपर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
पहिला नापी विभागबाट सीमा स्तम्भहरूको मर्मत सम्भारको काम हुने भए पनि २०८८ साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले त्यसको जिम्मा सशस्त्र प्रहरी बललाई दिएको थियो । बाँकेमा नेपाल पक्षले मर्मत सम्भार गर्नुपर्ने ७१ वटा बिजोर नम्बरका सीमा स्तम्भहरू रहेका छन् ।
सशस्त्र प्रहरी बलले जिम्मेवारी पाएपछि पहिलोपटक बाँकेमा सशस्त्र प्रहरी बलले सीमा स्तम्भहरूको मर्मत सम्भार गर्न थालेको छ ।
सीमा स्तम्भहरू मर्मत सम्भार शुभारम्भ अभियानमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, नेपाल तथा भारतका सुरक्षाकर्मीहरूको उपस्थिती रहेको थियो । मर्मत सम्भार काम केही दिनसम्म चल्ने सशस्त्र प्रहरी बलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्