बाँसगढी ।
बाँसगढी नगरपालिकामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । बाँसगढी नगरपालिका–५, बाह्रबिघामा सजनी परियार बुधबार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।
बेलुकी परिवारसँगै खाना खाएर आफ्नो कोठामा सुत्न गएकी परियार बिहान कोठामै मृत अवस्थामा भेटिएको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उनी मृत भेटिएपछि बिहान १० बजेतिर परिवारले प्रहरीमा खबर गरेका थिए ।
के कारणले उनको मृत्यु भएको भन्नेबारे केही खुल्न नसकेको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताइन् । ‘युवतीको शरीर हेर्दा त्यस्तो केही देखिँदैन, चोटपटक पनि छैन, सामान्य छ,’ निरीक्षक बोहराले भनिन्, ‘पोस्टमार्टम रिपोर्टपछि मात्र केही भन्न सकिएला ।’ युवतीको लास पोस्टमार्टमका लागि गुलरिया पठाइएको उनले जानकारी दिइन् ।
इप्रका बाँसगढीका अनुसार परियार २०–२२ दिनअघि मात्र आफ्नै फूपूको छोरा कमल परियारसँग भागी विवाह गरेर जुम्लाबाट बाँसगढी आएकी थिइन् । उनका पति कमलले करिब तीन साता अघिमात्र दोस्रो विवाह गरेर उनलाई ल्याएका थिए । घरमा कमलकी जेठी श्रीमती पनि छन् । तर एक साताअघि मात्र जेठी श्रीमतीलाई लिएर कमल रोजगारीका लागि भारततिर लागेका थिए ।
सजनी फुपू अर्थात सासू, अमाजूलगायत परिवारसँग घरमै बस्दै आएकी थिइन् । छोरी भेट्न भनेर जुम्लाबाट सजनीका बाबु पनि दुई–चार दिनअघि बाँसगढी आएका थिए । ‘परिवारमा त्यस्तो झैझगडा भएको पनि देखिँदैन,’ निरीक्षक बोहराले भनिन्, ‘सबै जना मिलेरै बसेको देखिन्छ ।’ प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बोहराले बताइन् ।
प्रतिक्रिया दिनुहोस्