सुर्खेत ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायले कोसी उपहार दिएका छन् ।
‘झुलाघाट चिवा भञ्ज्याङ, समृद्धिका लागि संकल्पयात्रा’ अभियानका क्रममा दैलेखको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा मुखिया सूर्यप्रकाश शाहीले ओलीलाई कोसी उपहार दिएका हुन् ।
कोसी राउटे समुदायले आफ्नो जीविकोपार्जनका लागि बनाउँदै आएको काठको सामग्री हो । उपहार ग्रहणपश्चात ओलीले आफूले लगाएको फूलको माला फुकालेर राउटे मुखिया शाहीलाई लगाइदिँदै भने, ‘राउटे समुदायको अस्तित्व बचाएर जीविकोपार्जन सहज बनाउन, शिक्षा स्वास्थ्यमा सहज पहुँच पु¥याउन तथा नीतिगत कार्यक्रम बनाएर सहयोग गर्न एमाले तयार छ ।’
राउटे मुखिया शाहीले आफ्नो समुदायको पुख्र्यौली पेसा नै संकटमा पर्दै गएका कारण बाँच्न समस्या भएको दुःखेसो पोखेका थिए ।
‘हामीलाई जंगल बस्न समस्या छ । हाम्रो समस्या बुझ्ला (बुझ्नुहोला) भनेर तपाई पूर्वप्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न आयाको (आएको) ।
अध्यक्ष ओलीज्यू काठमाण्डु गया, मुगु रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै (धेरै) सहयोग गर्या । अब पनि केही सहयोग गरन्ना भनेर भेट्न आयाका (आएका) हौँ,’ उनले भने ।
राउटे मुखिया शाहीले चिसोमा न्यानो लुगा दिन र खाद्य उपलब्ध गरिदिन पनि अध्यक्ष ओलीसँग आग्रह गरेका थिए । लोपोन्मुख फिरन्ते राउटे समुदायहरू हाल दैलेखको गुराँसे गाउँपालिकामा बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्