बाँके ।
सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशमा नेपाल–भारत सीमा स्तम्भहरूको मर्मत सम्भार सुरु गरेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ लिंक गेटको किनारमा रहेको ५ सय ६७ (१) नम्बरको सहायक सीमा स्तम्भको मर्मत गरी सुरुवात गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीको अगुवाइ तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटर कपिलवस्तुको आयोजनामा सीमास्तम्भका मर्मत सम्भारको काम सुरु गरिएको थियो ।
बिजोर नम्बरको नेपाल र जोर नम्बरको सीमा स्तम्भहरूको भारतले मर्मत सम्भारको जिम्मा पाएको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) अभिकुमार खत्रीले जानकारी दिए ।
सोही अनुसार लुम्बिनी प्रदेशका जिल्लामा रहेका सीमा स्तम्भहरूको मर्मत सम्भार कपिलवस्तुबाट थालिएको उनले बताए ।
लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा रहेका नेपाल–भारत सीमा स्तम्भहरूको सशस्त्र प्रहरीले मर्मत सम्भार गर्नेछ । त्यसका लागि सम्बन्धित जिल्लामा रहेका सशस्त्र प्रहरीका युनिटहरूलाई जिम्मा दिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीले जनाएको छ ।
त्यसका लागि समन्वय र सहकार्य भने सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनीले गरिरहेको छ । लुम्बिनी प्रदेशको कुल ४ सय ३५ किलोमिटर क्षेत्र सीमा भारतसँग जोडिएको छ ।
नापी विभागका नापी अधिकृत पवनकुमार खत्रीले अनुसार दशगजा क्षेत्रमा लुम्बिनी प्रदेशका ८ सय ८८ वटा सीमा स्तम्भहरू रहेको जानकारी दिए । जसमध्ये ५ सय ६ वटा बिजोर नम्बरको मर्मत नेपालले गर्नेछ ।
डिआईजी खत्रीले लुम्बिनी प्रदेशमा रहेका सीमा स्तम्भहरूको मर्मत सम्भार कार्य सुरु भएको र यसमा सबैको साथ सहयोग हुनुपर्ने बताए । सीमा स्तम्भ देशकै लागि संवेदनशील विषय भएकाले यो कार्यमा सरोकारवाला सबै गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।
सीमा स्तम्भहरूको मर्मत सम्भारका लागि भारतीय पक्षसँग समेत सहकार्य र समन्वय गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सीमा स्तम्भको रंगरोगन, २५ प्रतिशत क्षति भएको आंशिक, २५ देखि ५० प्रतिशत क्षति भएको मध्य र ५० प्रतिशतसम्म क्षति भएका सीमा स्तम्भको पूर्ण मर्मत गरिने सशस्त्र प्रहरी बलले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्