‘युवती’लाई यौन केन्द्रमा बेच्ने बाँके बैजनाथकी महिला पक्राउ



बाँके ।

महिलाहरूलाई रोजगारीको लोभमा भारतमा लगी बेचबिखन गरेको आरोपमा बाँकेकी एक महिला पक्राउ परेकी छन् । रोजगारीको प्रलोभन देखाएर भारत लगी महिलाहरूलाई बेचबिखन गरेको आरोपमा बाँके बैजनाथ गाउँपालिकाकी एक महिला पक्राउ परेकी हुन् ।

बैजनाथ गाउँपालिका–८ की ३९ वर्षीया मुना ठकुरी भन्ने मुनाकुमारी मल्ललाई मानव बेचबिखन अनुसन्धान ब्युरोको पक्राउ गरेको हो ।
उनीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा नेपालगन्जबाट ब्युरोको टोलीले पक्राउ गरेको थियो ।

पक्राउ परेकी मल्लले सुर्खेत, दैलेखलगायतका पहाडी जिल्लाहरूका महिलाहरूलाई रोजगारीको लोभमा भारतको दिल्ली पु¥याएर यौन गतिविधि हुने केन्द्रमा बेच्ने गरेको उजुरी थियो ।

सोही उजुरीको आधारमा उनीलाई नेपालगन्ज पक्राउ गरेर काठमाडौं ल्याइएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।
ब्युरोको टोलीले गरेको अनुसन्धानमा उनले एक नाबालिकासहित २ जना युवतीलाई भारत लगेर बेचेको खुल्नमा आएको छ । पक्राउ परेकी मल्ललाई काठमाडौं जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको ब्युरोले जनाएको छ ।

नाकुमारीले भारतमा घरको सरसफाइमा राम्रो कमाइ हुने प्रलोभन देखाई महिलालाई नेपालबाट लैजाने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलासा भएको छ । उनले आर्थिक अवस्था कमजोर भएका र कम पढेलेखेका एकल महिलालाई ‘टार्गेट’ बनाउने गरेको खुलेको प्रहरीले जनाएको छ ।

पीडितलाई दिल्लीबाट अन्यत्र स्थानमा समेत यौन गतिविधिका निम्ति पठाउने गरिएको थियो । पीडित भागेर हिँड्दा समेत पिछा गरेर समाती पुनः सोही गतिविधिमा लगाउने गरेको खुलेको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोमा नै उनीविरूद्ध उजुरी परेकाले आरोपित मल्ललाई नेपालगन्जबाट पक्राउ गरेर काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए । हालसम्म उनका विरूद्ध बाँकेमा भने कुनै उजुरीहरू परेका छैनन् ।

प्रकाशित मिति : २०८० मंसिर १७ गते आइतबार