12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

महिनावारीमैत्री शौचालयका कारण छात्राहरू ढुक्क

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर १६, २०८०  

शिवानी विक । कोहलपुर (बाँके) .

कोहलपुर नगरपालिका–१४ कि बन्दना खत्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्छिन् । उनलाई पहिले महिनावारी भएको बेला विद्यालय आउन समस्या हुन्थ्यो । कारण थियो, विद्यालयमा सहजै सेनेटरी प्याड उपलब्ध नहुुनु ।

कक्षा ७ मा अध्ययनरत राजदेवी थारूको पनि समस्या उस्तै थियो । उनीहरू विद्यालयमै महिनावारी भए बिदा लिएर घर फर्कन्थे । आफ्नो स्वास्थ्य समस्या खुलेर राख्दैनथे । समस्या राख्न डराउँथे, लजाउँथे ।

बन्दना र राजदेवी प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्तै महिनावारी हुने किशोरीहरूलाई विद्यालयमा सेनेटरी प्याड उपलब्ध नहुँदा बीचमै पढाइ छोडेर घर जानुपर्ने बाध्यता थियो ।

‘पहिले विद्यालयमा प्याडको व्यवस्था थिएन । महिनावारी भएका बेला विद्यालयमा आउन मन हुँदा पनि बाध्यताले घरमै बस्नुप¥थ्र्यो,’ कक्षा ८ मा अध्ययनरत भावना मल्लले भनिन्, ‘विद्यालयमा प्याड उपलब्ध नहुँदा ३–४ दिनसम्म विद्यालय आउन पाइँदैनथ्यो ।’ तर आजभोलि विद्यालयमा सहजै भनेकै समयमा प्याड प्रयोग गर्न पाएपछि भावना र उनका साथीहरू नियमित विद्यालय आउन पाउँदा खुसी देखिन्छन् ।

विद्यालयमा भेन्डिङ अर्थात सेनेटरी प्याड झिक्न मिल्ने मेसिनसहितको महिनावारीमैत्री छात्रा शौचालय निर्माण गरिएपछि महिनावारी हुँदा कक्षा छाड्नुपर्ने समस्या हटेको कक्षा ८ मा अध्ययनरत अर्की छात्रा स्मृति सुनार बताउँछिन् । ‘महिनामा तीन–चार दिनसम्म कक्षा छुट्दा पढाइमा समस्या थियो,’ सुनारले भनिन्, ‘अहिले साथीहरूलाई पनि धेरै सजिलो भएको छ ।’ छात्राहरू महिनावारी भएको बेला शिक्षिकासँग समन्वय गर्छन् ।’

अहिले छात्राहरूले लाज नमानी आफूहरूसँग सेनेटरी प्याड माग्ने गरेको विद्यालयकी शिक्षिका सरिता खत्रीले बताइन् । सुरु–सुरुमा छात्राहरू प्याड माग्न लजाउने गरेको अनुभव उनले सुनाइन् ।

‘जसरी महिनावारी हुनु प्राकृतिक प्रक्रिया हो, त्यसैगरी महिनावारी हुँदा सामान्य दुखाई र कमजोरी हुनु सामान्य समस्या हो,’ उनले भनिन्, ‘यसमा अप्ठ्यारो मान्नुपर्दैन भनेर सम्झाएपछि छात्राहरू निर्धक्क साथ माग्छन् ।’ अहिले महिनावारी भएपछि विद्यालय नआउने छात्राहरूको संख्या पूर्णरूपमा नियन्त्रण भएको शिक्षिका सरिता खत्रीको भनाइ छ ।

यसैगरी, बाँकेको कोहलपुर नगरपालिका–७ लखनवारमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पनि भेन्डिङ मेसिनसहितको महिनावारीमैत्री छात्रा शौचालय निर्माण भएको छ । किशोरीहरूले प्रयोग गर्ने शौचालयमा भेन्डिङ मेसिन जडान गरिएपछि महिनावारी भएको समयमा छात्राहरूले क्वाइन (सिक्का)को प्रयोग गरी आवश्कता अनुसारको प्याड मेसिनबाट झिकेर प्रयोग गर्ने गरेका छन् ।

विद्यालयमा भेन्डिङ मेसिनसहितको महिनावारीमैत्री छात्रा शौचालय निर्माण भएपछि यहाँ अध्ययन गर्ने किशोरीहरूलाई प्याड फेर्न तथा प्रयोग गरेको प्याडको व्यवस्थापन गर्न सहज भएको विद्यालयका प्रधानाध्यापक दिनेश्वर यादवले बताए ।

किशोरीहरूले प्रयोग गरेको प्याडको व्यवस्थापन गर्न शौचालयभित्रै डस्टबिन राखिएको छ । विद्यालयमा किशोरीहरूलाई महिनावारी र स्वच्छतासम्बन्धी समेत जानकारी दिइने गरिएको प्रधानाध्यापक यादवले बताए । ‘सेनेटरी प्याड झिक्न मिल्ने एउटा मेसिनमा ७५ वटा सेनेटरी प्याडको पिस राख्न मिल्छ,’ उनले भने, ‘जसले गर्दा सहजै प्याड उपलब्ध हुन्छ ।’

महिनावारी भएको समयमा पनि छात्राहरूलाई नियमित स्कुलमा उपस्थित गराउन आफूहरूले अभिभावकहरूसँग सहकार्य गर्ने गरेको उनले बताए । विद्यालयमा सरसफाइका साथसाथै प्रसस्त मात्रामा सुरक्षित पिउने पानीको समेत व्यवस्था गरिएको यादवले जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, मंसिर १६, २०८०     8:33:58 AM  |