पुनः बल्झियो नेउवासंघमा महासचिवको विवाद



नेपालगन्ज उद्योग बाणिज्य संघको महासचिव पदको विवाद फेरी बल्झिएसँगै संघभित्र समानान्तर गतिविधि हुन थालेका छन् । आर्थिक मन्दीका कारण प्रभावित भएका उद्योगी, व्यवसायीका समस्या समाधानका लागि पैरवी गर्न केन्द्रित हुनुपर्ने बेला संघभित्र समानान्तर गतिविधि हुन थालेसँगै संघको दैनिक कामकाजमा असर पुगेको छ ।

नेपालगन्ज ।

नेपालगन्ज उद्योग वाणिज्य संघमा मतगणनाका क्रममा महासचिव पदमा उत्पन्न विवाद फेरि बल्झिएको छ । आर्थिक मन्दीका कारण प्रभावित भएका उद्योगी, व्यवसायीका समस्या समाधानका लागि पैरवी गर्न केन्द्रित हुनुपर्ने बेला संघभित्र समानान्तर गतिविधि हुन थालेका छन् भने दैनिक कामकाजमा असर पुगेको छ ।

गत भदौ २ गते भएको निर्वाचनमा ६ मतले विजयी भएका भीमबहादुर रानाभाटविरुद्ध अर्का उम्मेदवार टंकप्रसाद शर्माले पुनः मतगणनाको माग राख्दै रिट हालेका थिए । रानाभाटले १ हजार ९ सय २६ मत ल्याउँदा शर्माले १ हजार ९ सय २० मत ल्याएका थिए ।

सो बेला प्रमुख निर्वाचन आयुक्तले विजयी घोषणा गर्नुअघि नै शर्माले पुनः मतगणनाको माग राखेका थिए । त्यसको बाबजुद प्रमुख निर्वाचन आयुक्त रहेका वरिष्ठ अधिवक्ता टिकाजङ्ग सिंहले रानाभाटलाई विजयी घोषणा गरेका थिए ।

त्यतिबेला प्रमुख निर्वाचन आयुक्त सिंहले पुनः मतगणना हुने सूचना जारी गरेपछि विवाद बढेको थियो । पुनः मतगणना गर्ने सूचना जारी गरे पनि सिंहले फेरि नगन्ने भनेपछि शर्मा अदालत गएका थिए । तर उच्च अदालत तुलसीपुर नेपालगन्ज इजालसका न्यायाधीशद्वय भानुभक्त न्यौपाने र पुनमसिंह चन्दको इजलासले शर्माको रिट खारेज गर्दै निर्वाचन आयुक्तले विजयी घोषणा गरेको कुरालाई मान्यता दिने फैसला गरेको थियो ।

उच्चको फैसलासँगै महासचिवको विवाद टुंगिएको मानिएको थियो भने रानाभाटले सपथसँगै आफ्नो जिम्मेवारीसमेत सम्हालिसकेका थिए ।
तर महासचिव पदका अर्का उम्मेदवार शर्माले उठाएको मुद्दा कार्यसमितिभित्रै उनका प्यानलबाट विजयी भएका उम्मेदवारहरूले उठाए । उक्त विषयलाई एजेन्डाकै रूपमा कार्यसमितिमा लैजानुपर्ने विषयमा यतिबेला विवाद उत्कर्षमा पुगेको छ ।

तर त्यो बढ्दै जाँदा बुधबार असन्तुष्ट पक्षले कार्यसमिति बैठकसमेत बसालेर गम्भीर निर्णय गरेको छ । जसलाई अध्यक्ष टंक धामीले अवैध र अनधिकृत भनेका छन् ।

अध्यक्ष धामीले आफूखुसी निर्णयहरू गर्दै गएको भन्दै पदाधिकारीसहितको असन्तुष्ट पक्षले बैठक नै बसेर त्यसको प्रतिवाद गर्ने निर्णय गरेको कोषाध्यक्ष मख्खनबहादुर धामीले जानकारी दिए । संघको नेतृत्वले कसैलाई काखा, कसैलाई पाखा नगरेर संघको विधि विधान अनुसार चल्नुपर्नेमा त्यसो नगरेको उनले आरोप लगाए ।

संघको बैठकमा नेतृत्व पक्षको अनुपस्थित भएपछि असन्तुष्ट पक्ष बुधबार बैठक बसेर विभिन्न निर्णयहरू समेत गरेको छ । बैठकले नेतृत्वको अब डटेर प्रतिवाद गर्ने निर्णय गरेको छ ।

संघको विधान अनुसार ७ दिन अगावै बैठक बस्ने भनेर सूचना जारी गरिँदा समेत बैठकमा अनुपस्थित भएपछि विधान धारा २८ (६) अनुसार उपमहासचिव टेकबहादुर खड्काको अध्यक्षमा बुधबार बैठक बसेर केही निर्णय गरेको हो ।

बैठकले अध्यक्षलगायतका पदाधिकारीले कुनै पनि निर्णय गर्दा आफूहरूलाई जानकारी नहुने कुराको विरोध गर्दै देखिएको व्यथितिका विरुद्ध अगाडि बढ्दै महासचिव पदमा भएको मतदानको सम्पूर्ण मतगणना नभएको कार्यलाई पूर्ण गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयुक्तले महासचिव पदको मतगणना नहुँदै गरिएको घोषणा कार्यलाई विधि विधान अनुसार बनाउन सो पदका लागि अन्य मतपेटिकाको मतगणना गर्ने निर्णय गरेको हो । महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले पुनः मतगणनाका लागि विभिन्न मितिमा संघलगायत विभिन्न ठाउँमा दिएको निवेदनका आधारहरू प्रशस्त हुँदाहुँदै पनि नेतृत्वले बेवास्ता गरिरहेकाले सो निवेदनमा पुनर्विचार गर्नुपर्ने देखिएको उल्लेख गरेको छ ।

उम्मेदवार शर्माले सो पदको पुनःमतगणा गरी पाउँ भनी जिल्ला प्रशासन कार्यालयमा बाँकेमा दिएको निवेदन हालसम्म पनि विचाराधीन रहेको र उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासको मिति २०८० असोज १५ को आदेशबाट पनि सो विषयमा प्रशासनबाट टुंगो लगाउनुपर्ने आसय देखिएको हुँदा अदालतको आदेश समेतका आधारमा प्राप्त खामबन्दी गरी राखिएका मतपत्र मतगणना गर्न व्यवस्था मिलाई सोही कार्यालयबाट निष्पक्ष रूपमा खामबन्दी गरिएका मतसमेतको यही मंसिर २० गते पुनः मतगणना गर्ने निर्णय गरेको छ ।

बैठकले मतगणनाका लागि एक जना अधिकृतको संयोजकत्वमा ३ सदस्यीय टोली गठन गरी दिन जिल्ला प्रशासन कार्यालय बाँकेमा लेखी पठाउने र शान्ति सुरक्षाका लागि बाँके प्रहरीलाई अनुरोध गर्नुका साथै पुनः मतगणनाको कार्य सम्पन्न नहुँदासम्मका लागि संघको महासचिवको हैसियतमा भीमबहादुर रानाभाटलाई कुनै पनि काम गर्न नपाउने र सो पदको काम कारबाही तत्कालका लागि संघका उपमहासचिव खड्काबाट गराउने निर्णय गरेको छ । बैठकलगत्तै उक्त समूहले बिहीबार प्रशासनलाई पत्रसमेत पठाइसकेको छ ।

तर संघका अध्यक्ष टंक धामीले अर्को पक्षले जे गरिरहेको छ त्यो विधानसम्मत नभएको आधिकारिक नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘उहाँहरूले जे जसरी गरिरहनुभएको छ त्यो विधानसम्मत छैन र आधिकारिक पनि होइन ।

न्यायिक निरूपण भइसकेको विषयलाई लिएर जुन प्रकारको परिस्थिति सिर्जना गरिएको छ त्यो ठिक होइन । व्यवसायीका अनेक प्रकारका समस्या छन्, त्यसको समाधानका लागि काम गर्नुपर्ने बेला संघलाई अनेक उल्झनमा राख्नु हुँदैन ।’

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर १५ गते शुक्रबार