8 September 2024  |   आइतवार, भदौ २३, २०८१

ध्वस्त हुनबाट धन्न बच्यो मदनचोक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर १५, २०८०  

गणेश रावत । कोहलपुर ।

बुधबार राति कोहलपुर–३ मदनचोकको मुख्य चोकभन्दा करिब सय मिटर भित्र आगलागी भयो । सो आगलागीबाट एउटा घर र त्यहाँ रहेका पाँचवटा पसल जलेर पूर्णरूपमा नष्ट भए । जसमा करोड रुपैयाँभन्दा बढी क्षति पुगेको छ । तर बजारै ध्वस्त हुनबाट भने जोगिएको छ ।

‘यदि हामीले समयमै ध्यान नपु¥याएको भए मदनचोकका तमाम घरहरू जलेर खरानी हुने थिए । मानवीय क्षतिसमेत हुन सक्ने सम्भावना थियो,’ स्थानीय गोपाल अधिकारीले भने, ‘एउटा घर र त्यहाँ भएका सामान त बचाउन सकिएन । तर बजारकै ठूलो क्षति हुनबाट भने बचेको
छ ।’

मदनचोक बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका अधिकारीका अनुसार आगलागी भएको घरभित्र १५/१६ वटा ग्यास सिलिन्डर थिए । यदि ती सिलिन्डर समयमै बाहिर निकाल्न नसकेको भए बजारमा ठूलो क्षति हुने सम्भावना थियो, जुन टरेको छ ।

बुधबार राति छिमेकमा आगलागी हुँदा गोपाल आफ्नो घरमा मस्त सुतिरहेका थिए । एक्कासि बाहिर कसैले बोलाएको आवाज उनको कानमा प¥यो । उनी हतार–हतारमा उठे र बाहिर आए ।

छिमेकी भाइ विपीनले ‘गोपाल दाइ…गोपाल दाइ…’ भनेर बोलारहेका थिए । गोपाल हतार–हतारमा तल झरे । देख्छन्– विपीनको घरभित्रबाट धुवाँको मुस्लो बाहिर आइरहेको छ । ‘म आउँदा करिस्मा टेलरिङमा आगो बलिरहेको थियो,’ गोपालले भने ।

हल्ला भएपछि छिमेकीहरू पनि जम्मा भए । ‘सबै हतास थिए । मैले घरभित्र ग्यास सिलिन्डर रहेको थाहाँ पाएँ,’ गोपालले भने, ‘त्यसपछि सटर फोरेर म ती सिलिन्डर निकाल्नतिर लागेँ ।’ उनलाई साथ दिन कोहलपुर नगरपालिका–३ का वडाध्यक्ष माधव रिजालसहितका छिमेकी पनि जम्मा भए । ‘सबैले मिलेर पहिला ग्यास सिलिन्डर र दुईवटा बाइक बाहिर निकाल्यौँ,’ अधिकारीले भने, ‘जहाँ १६ वटा सिलिन्डर रहेछन् । ती सिलिन्डर विस्फोट भएको भए…!’

सिलिन्डर हटाउने क्रममा अधिकारी सामान्य घाइतेसमेत भएका छन् । वडाध्यक्ष रिजालले पनि मदनचोक बजारमा ठूलो धनजनको क्षति हुनबाट जोगिएको बताए । आगलागी भएको थाहा पाउनेबित्तिकै घटनास्थलमा पुगेका रिजालसहितका छिमेकीले सिलिन्डर बाहिर निकाल्ने कामलाई पहिलो प्राथमिकता दिएका थिए ।

‘घर र पसल बचाउन नसकिए पनि बजारै ध्वस्त हुनबाट भने बचाइयो,’ उनले भने ।

आगलागीबाट विपीन योगीको आठकोठे घर र त्यसमा रहेका कृष्टिना इम्पोरियम, चित्रकुट किराना पसल, उषा कस्मेटिक, करिष्मा टेलरिङ सेन्टर र दीपिका स्टेशनरी जलेर पूर्णरूपमा नष्ट भएका छन् । आगलागीबाट करिब १ करोड ५० लाख रुपैयाँबराबरको क्षति भएको मदनचोक बजार व्यवस्थापन समितिले अनुमान गरेको छ ।

उद्धारमा ढिलाइ भएकाले क्षति बढी भएको वडाध्यक्ष रिजालको भनाइ छ । ‘समयमै उद्धार हुन सकेको भए त्यो क्षतिलाई पनि कम गर्न सकिन्थ्यो,’ उनले भने । उनले कोहलपुर नगरपालिका विपद् व्यवस्थापनमा गम्भीर बन्न नसकेको गुनासो गरे । ‘विपत् व्यवस्थापनमा नगरपालिकाको व्यवस्थापन कमजोर देखियो,’ उनले भने, ‘दमकल बिग्रिएको भनेर नगरपालिका पन्छिन मिल्दैन ।’

कोहलपुरको दमकल बिग्रिएको थाहा पाएपछि आफूले बाँसगढीबाट दमकल बोलाएको उनले बताए । ‘म कोहलपुर नगरपालिकाकै जनप्रतिनिध भएर पनि अन्य पालिकाबाट सहयोग लिनुप¥यो,’ वडाध्यक्ष रिजालले भने ।

अधिकारी पनि समयमै उद्धार भएको भए एउटा सटरमा मात्र क्षति हुने बताउँछन् । ‘हामी आउँदा एउटा सटरमा मात्र आगो सल्किएको थियो,’ उनले भने, ‘निभाउने प्रयास गर्दागर्दै आगो फैलियो । कोहलपुरमै दमकल भएको भए यति धेरै क्षति हुँदैनथ्यो ।’

दमकलका लागि कोहलपुर नगरपालिकामा फोन गरे पनि नगरपालिकाबाट दमकल बिग्रेको खबर आएकाले कोहलपुर नगर प्रहरीकै समन्वयमा नेपालगन्ज दमकललाई फोन गरिएको घरमुली विपीन योगीले बताए । नेपालगन्जबाट दमकल आउनै बेर लाग्यो,’ विपीनले भने, ‘दमकल आउँदासम्म आगोले ठूलो रूप लिइसकेको थियो ।’

कोहलपुरमै दमकल भएको भए यति धेरै क्षति नहुने उनलाई पनि लाग्छ । आगलागीको खबर पाएलगत्तै मदनचोक प्रहरी बिट, इलाका प्रहरी कार्यालय कोहलपुर, कोहलपुर नगर प्रहरी तथा सशस्त्र प्रहरी घटनास्थल पुगेका थिए ।

तर खाली फायर डिस्टिङ्युस सिलिन्डरसहित नगर प्रहरी घटनास्थल पुगेको पीडितले बताए । ‘नगर प्रहरीले दुईवटा आगो निभाउने सिलिन्डर ल्याएको थियो,’ पीडित योगीले भने, ‘ती त खाली सिलिन्डर पो रहेछन् ।’ विपत् व्यवस्थापनमा कोहलपुर नगरपालिका गम्भीर नदेखिएको पीडितहरूको गुनासो छ ।

कोहलपुर उद्योग वाणिज्य संंघका अध्यक्ष लक्ष्मणराज पौडेलले पनि कुनै पनि नाममा यस्ता विपत् व्यवस्थापनबाट स्थानीय सरकार पन्छिन नहुने बताए । ‘दमकल बिग्रेको भए समयमै बनाउनुपथ्र्यो,’ उनले भने, ‘बिग्रेको भनेर नगरपालिका पन्छिन मिल्दैन ।’

उनले अब पीडितलाई उचित क्षतिपूर्ति दिलाउने कुरामा ध्यान दिनुपर्ने बताए । संघका तर्फबाट पनि पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए ।

विद्यूत् सर्ट भएर आगलागी भएको हुनसक्ने भन्दै कोहलपुर प्रहरीले थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, मंसिर १५, २०८०     7:19:32 AM  |