एमाले महासचिवको पत्रले एमाले कर्णालीमा विवाद



सुर्खेत ।

नेकपा एमाले महासचिव शंकर पोखरेलले निर्णय गरेर पठाएको पत्रले एमाले कर्णाली कमिटीमा विवाद उत्पन्न भएको छ । गत असोजमा प्रदेश अधिवेशनबाट निर्वाचित उपसचिव रमेश शाहीलाई हटाएर उनैसँग पराजित पद्मा खड्कालाई जिम्मेवारी दिएको पत्र मंगलबार महासचिव पोखरेलले पठाएका थिए । पराजित खड्कालाई जिम्मेवारी दिएको पत्रपछि नेता तथा कार्यकर्ताहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।

महासचिव पोखरेलले प्रदेश कमिटीलाई पत्र लेख्दै केन्द्रीय सचिवालयको गत कात्तिक २२ गतेको बैठकले उक्त निर्णय गरेको भन्दै पत्राचार गरेका थिए । प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीमा महिला आरक्षण हुन सकेको थिएन । महिला कोटा हुनुपर्ने दाबीसहितको निवेदन परेपछि सचिवालय बैठकले उक्त निर्णय गरिएको पत्रमा उल्लेख छ ।

तर, जोसँग पराजित व्यक्ति हो उसैलाई उपसचिवको जिम्मेवारी दिएपछि नेता, कार्यकर्ताहरू दुई भागमा विभाजन भएका छन् । हटाइएका उपसचिव शाहीले महासचिव शंकर पोखरेललाई विधान र निर्वाचन प्रक्रिया गहन रूपमा बुझ्न चेतावनी दिएका छन् ।

उनले पोखरेलको उक्त निर्णयको विरोध जनाएका छन् । उनले भनेका छन्, ‘विधान र विधि म २०४८ सालबाटै बुझेर नेकपा एमालेको नेता भएर बसेको एक सिपाही हुँ ।

एमालेको लामो समय जिल्ला कमिटी सदस्य, २ पटक सचिवालय सदस्य, जिल्ला पार्टी उपाध्यक्ष, जिल्ला अध्यक्ष, प्रदेश कमिटी सदस्य प्रदेश कमिटी सचिवालय सदस्य हुँदै प्रथम कर्णाली प्रदेश अधिवेशनबाट उपसचिव पदमा निर्वाचित भएको हुँ ।

पार्टीको विधान र विधि राम्रोसँग बुझेकै छु र हालसम्म कार्यान्वयन गर्दै र गराउँदै आएको छु । बरु विधान र निर्वाचन प्रक्रियालाई गहन रूपमा बुझ्न आदरणीय महासचिव कमरेडलाई अनुरोध गर्दछु ।’

निर्वाचनमा दाबी विरोधको पनि व्यवस्था गरिएको र कसैले पनि दाबी विरोधको निवेदन नदिएको उनको भनाइ छ । निर्वाचनको कलस्टरको छलफल निर्वाचन गराउनुभन्दा अगाडि फाइनल हुन्छ ।

‘हाम्रो पार्टीमा कि त विधानले उल्लेख गर्छ कि त बन्दसत्रको हलले,’ उनले भनेका छन्, ‘जे निर्वाचनलाई निर्णय गरेर दियो त्यही निर्वाचन कलस्टर अनुसार निर्वाचन हुन्छ । यी सबै कुरालाई पालना गर्दै अधिवेशनबाट मलगायत पदाधिकारी र सदस्य निर्वाचित भएका हौँ । हामी मनोनीत भएका होइनौँ ।’

उक्त कुरा पार्टी महासचिवले निर्णय गर्दा हेक्का राख्नुपर्ने उनको भनाइ छ । ‘पार्टीको विधान एकै हो जस्तो मलाई लाग्छ तर, केन्द्रीय पार्टीको विधान एउटा, प्रदेश पार्टीको विधान एउटा र जिल्ला पार्टीको विधान एउटा हुन्छ जस्तो मलाई लग्दैन,’ शाही भन्छन् । विधानको पालना सबैले गर्नुपर्छ होला नि भन्दै उनले प्रश्नसमेत गरेका छन् ।

अधिवेशनमा निर्वाचन कमिटीले विजय घोषण गरी प्रमाणपत्र प्रदान गरेर शपथ गराइसकेको अवस्थामा पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णय भन्दै पदाधिकारी परिवर्तन गरेको निर्णय विधान र निर्वाचन प्रक्रियाको विपरीत भएको उनको दाबी छ ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर १४ गते बिहीबार